×

कामपाको मनपरी- भताभुड्ड भवनमा सर्दै नसरी ३० लाख सकियो

images

काठमाडौ । काठमाडौं महानगरपालिकाले सम्झौता अध्ययन नै नगरी काठमाडौं प्लाजा बहालमा लिएपछि झण्डै १ करोड ५० लाख रुपैयाँ खेर जाने भएको छ । नेपाल ट्रस्टको स्वामित्वमा रहेको काठमाडौं प्लाजा लथालिङ्ग अवस्थामै महानगरले १० वर्षको लागि भाडामा लिएको थियो । भवन बाहिरबाट हेर्दा भव्य भए पनि भित्र भताभुङ्ग अवस्थामा छ ।

भाडामा दिनुअघि घरधनीले चुस्त दुरुस्त अवस्थामा दिनुपर्ने भए तापनि कामपाले हतारमा मुख्यालय सार्ने भन्दै दुई साताअघि भाडामा लिएको थियो । सोही दिनदेखिको घरभाडा गणना गर्दा आजसम्म ३० लाख रुपैयाँ खर्च भइसकेको छ । तर, हालसम्म महानगरपालिकाको कुनै पनि विभाग उक्त भवनमा सरेको छैन ।

जनताले तिरेको करबाट चलेको महानगरले हचुवाको भरमै २ महिनाको भाडा तिर्नुपर्ने देखिएको छ । कामपाले गत ९ गतेकै दिनबाट मासिक ६० लाख ५० हजार रुपैयाँ तिर्नेगरी घर भाडामा लिने सम्झौता गरेको हो । सम्झौताअनुसार कामपाले १० वर्षमा करिब ८० करोड रुपैयाँ तिर्नुपर्छ ।

काठमाडौं प्लाजा अवलोकन गर्न पुगेका एक उच्च कर्मचारीले भने– ‘केही दिनपछि सर्ने भनिएको भवनमा न लिफ्ट बनेको छ । न त नेटवर्किङ नै । बिजुलीको व्यवस्थापन हुन सकेको छैन । कसरी विद्युत्को व्यवस्थपन गर्ने? अत्तोपत्तो छैन । शौचालयको अवस्था त्यस्तै छ । पानी कसरी व्यवस्थित गर्ने? हामीले भवन हेर्दा ठूलो देख्यौ तर लथालिङ्ग अवस्थामा रहेछ । भवनको शौचालयमा छिर्ने हुँदैन, साह्रै दुर्गन्धित छ । त्यसलाई कसरी व्यवस्थापन गर्ने? ठुलो समस्या छ । भवनको भित्ता हे¥यो, जताततै बिग्रिएको र भत्केको छ । उनका अनुसार यही अवस्थामा सबै विभाग सर्न कम्तीमा पनि ३ महिना लाग्ने देखिएको छ ।’

कामपाका सूचना अधिकारी वसन्त आचार्यले २०७६ सालमा मन्त्रिपरिषद्को निर्णयअनुसार शुरूकै दिनदेखि भाडा तिर्नेगरी सम्झौता गरेको बताए । तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेल अध्यक्ष रहेको नेपाल ट्रस्टले काठमाडौं प्लाजा काठमाडौं महानगरपालिकालाई भाडामा दिने निर्णय गरेको थियो । आचार्यको भनाइअनुसार निर्णयमा चल्दै नचल्ने लिफ्ट नेपाल ट्रस्टले निर्माण गरी हस्तान्तरण गरेपछि मात्र सम्झौता गर्ने उल्लेख थियो । तर, सम्झौता गरेको दुई सातासम्म पनि लिफ्ट निर्माण हुन नसकेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

बिहीबार २३ चैत २०७९ ०८:०७ AM मा प्रकाशित

प्रतिक्रिया