×

रुस पुगेपछि भीमबहादुरले ठगिएको चाल पाए

images


काठमाडौँ, २३ फागुन: आकर्षक तलब पाउने लोभमा वैदेशिक रोजगारीका लागि रुस पुगेका एक व्यक्ति त्यहाँको विमानस्थलबाट फर्काइएपछि आफू ठगिएको चाल पाएका छन् ।

    लमजुङ दूधपोखरी गाउँपालिका-१ घर भई हाल काठमाडौँ टोखा बस्ने विनिता गुरुङले एसएलसी उत्तीर्ण हुन नसकेका भीमबहादुर बुढालाई नक्कली कागजातसमेत बनाएर वैदेशिक रोजगारीका लागि रुस पठाइदिने बहानामा ठगी गरेको पाइएको हो । 

    रुस जान रु छ लाख ५० हजार लाग्ने तथा त्यहाँ पुगेपछि रसिया सैनिकमा काम लगाइदिने  र त्यसबापत मासिक रु तीन लाख तलब हुन्छ भनी विश्वासमा पारी ती महिलाले तीन लाख ४६ हजार लिएर ठगी गरेको प्रहरीको भनाइ छ । 

    विनिताले उक्त भिसाका लागि आवश्यक सबै सर्टिफिकेटलगायत कागजात नक्कली बनाएको र एक हजार डलर साटेको देखाई  उक्त डलर बसपार्कबाट आफैँ लिएका थिए । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर निजलाई रसिया पठाइएको अनुसन्धानका क्रममा पत्ता लागेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

    उनलाई रसिया पुगेपश्चात् विमानस्थलबाट नक्कली कागजात भएको भनी फिर्ता पठाइएपछि मात्रै पीडितले आफू ठगिएको पत्ता पाएका थिए ।  त्यसपछि फर्किएर पीडितले वैदेशिक रोजगार विभाग ठगिएको भनी निवेदन दिएका थिए । विभागको पत्रअनुसार कार्यालयको प्रहरी टोलीले ठगी गरी फरार रहेकी विनिता गुरुङलाई काठमाडौँको बाँनियाटारबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको रेग्मीले जानकारी दिनुभयो । 

    रेग्मीले ठगी गरी विदेश पठाउनेको गिरोह नै रहेकाले त्यस्ता व्यक्तिको लोभमा नफस्न सर्वसाधारणलाई आग्रह गर्नुभएको छ ।
 

बुधबार २२ फागुन २०८० ०२:२८ PM मा प्रकाशित

प्रतिक्रिया