×

रविलाई संगठीत अपराधमा मुद्दा नचलाएको भन्दै चितवनका सरकारी वकिल को रातारात सरुवा

images

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथिको अभियोजनमा त्रुटि गरेको भन्दै जिल्ला सरकारी वकिलको कार्यालय चितवनका जिल्ला न्यायाधिवक्तामाथि छानबिन थालिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय चितवनका जिल्ला न्यायाधिवक्ता शान्ति प्रसाद लुइँटेललाई महान्याधिवक्ताको कार्यालयमा सरुवा गरेर छानबिन सुरु गरिएको हो । लुइँटेलमाथि साहारा बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न लामिछानेविरुद्ध ‘संगठित अपराध’ हटाएर ठगी सम्बन्धी कसुरमा मात्रै मागदावी लिएको आरोप छ ।

नायव महान्यायाधिवक्ता गोपाल प्रसाद रिजालको नेतृत्वमा छानबिन समिति गठन गरी लुइँटेलमाथि छानबिन सुरु गरिएको महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता सूर्यराज दाहालले बताए ।

लुइँटेललाई महान्याधिवक्ताको कार्यालय तानिएसँगै चितवनमा उच्च सरकारी वकिलको कार्यालय बुटवलमा कार्यरत रवि न्यौपानेलाई पठाइएको छ । रविलाई संगठित अपराधमा उन्मुक्ति दिएको विषयमा छानबिन गर्न महान्यायाधिवक्ताको कार्यालयले समिति गठन गरेको हो।

नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको संयोजकत्वमा गठित समितिमा महान्यायाधिवक्ता कार्यालयका प्रवक्तासमेत रहेका सहन्यायाधिवक्ता सूर्यराज दाहाल, उच्च अदालत सरकारी वकिल कार्यालय हेटौँडाका सहन्यायाधिवक्ता ईश्वरीप्रसाद ढकाल र महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता रुद्रप्रसाद आचार्य सदस्य छन्।

समितिलाई साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनसम्बन्धी अभियोजनको सत्यतथ्य पत्ता लगाई महान्यायाधिवक्ताको कार्यालयलाई जानकारी गराउने कार्यादेश दिइएको छ।

यसैबीच, संगठित अपराधमा उन्मुक्ति दिएको आरोप लागेका लुइँटेलको मंगलबार नै महान्यायाधिवक्ताको कार्यालयमा सरुवा भइसकेको छ। लुइँटेलले माघ १३ गते नै आफू सरुवा भइसकेको र अभियोजन हुँदासम्म मात्र चितवनमा रहेको बताएका छन्। लुइँटेलको ठाउँमा उच्च सरकारी वकिल कार्यालय बुटवलका उपन्यायाधिवक्ता रवि न्यौपाने सरुवा भइसकेका छन्।

सरकारी वकिलको कार्यालयले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनसम्बन्धी अभियोजनमा ३२ जनाविरुद्ध मुद्दा दायर गर्दा १२ जनालाई मात्रै संगठित अपराध र ठगीको आरोप लगाएको थियो। प्रहरीले गोर्खा मिडियाका रविसहित चार जनालाई संगठित अपराधमा मुद्दा चलाउन सिफारिस गरेको थियो। तर, जीबी राई, छविलाल जोशी र कुमार रम्तेललाई मात्र संगठित अपराधमा अभियोग लगाइए पनि रविलाई सहकारी ठगीसम्बन्धी मात्र मुद्दा चलाइएको थियो।

रविविरुद्ध संगठित अपराधको मुद्दा नचलेको विषयमा जिज्ञासा राख्दा लुइँटेलले सहकारीबाट पहिला लगानी गर्ने कम्पनीहरूमध्ये एकमा रहेका व्यक्तिलाई संगठित अपराधमा मुद्दा नचलाउने मापदण्ड अपनाइएको बताए।

बिहीबार २४ माघ २०८१ ०७:५० AM मा प्रकाशित

प्रतिक्रिया