×

घाइतेको निःशुल्क उपचार र अन्तर्राष्ट्रिय सहयोग स्वीकार गर्ने मन्त्रिपरिषद्‌को निर्णय

images

काठमाडौँ, १९ कात्तिक : मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति गएको भूकम्पबाट घाइते भएकाहरूको सबै अस्पतालमा निःशुल्क उपचार गराउने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकले तत्काल उद्धार गर्नुपर्ने व्यक्तिहरू लगभग सबैको उद्धार गरिएको र उपचारका लागि काठमाडौँलगायतका सबै स्थानका अस्पताललाई तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पत्रकारलाई जानकारी दिनुभयो ।

उहाँले गोरखा भूकम्पपछि गरिएको राहत र पुनःस्थापनाका कामको सिकाइ र कमजोरीलाई ग्रहण गरी प्रभावकारीरूपमा राहत र पुनःस्थापनाका काम सञ्चालन गर्न तथा छिमेकी एवं मित्रराष्ट्रबाट प्राप्त हुने सहयोग कुन–कुन क्षेत्रमा कसरी लिने भन्नेबारेमा थप छलफल गरी निर्णय गरिने जानकारी दिनुभयो । 

बैठकले छिमेकीलगायत मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघ संस्थाबाट प्रस्ताव भएको सहयोग स्वीकार गर्ने, तथा त्यस्तो सहयोगका लागि सरकारका तर्फबाट धन्यवादन दिने निर्णय भएको जानकारी दिनुभयो । 


अहिलेसम्म चीन सरकारले १० करोड बराबरको राहत सामग्री दिने घोषणा गरेको छ । यस्तै अर्को छिमेकी मुलुक भारतले हरसम्भव सबै सहयोग र राहत उपलब्ध गराउने बताएको छ । त्यस्तै मित्रराष्ट्र रुस, पाकिस्तानलगायत मुलुकले पनि सहयोग गर्ने बताएका छन् ।

आइतबार​ १९ कात्तिक २०८० १२:०९ PM मा प्रकाशित

प्रतिक्रिया