×

कांग्रेस सुधार्ने विश्वप्रकाशको १५ बुँदे ओखती: स्थायी गुटबन्दी अन्त्यदेखि युवा नेतृत्वको ग्यारेन्टीसम्म

images

काठमाडौँ। नेपाली कांग्रेसको ऐतिहासिक १५औँ महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको वैचारिक तथा संगठनात्मक शुद्धीकरणका लागि १५ बुँदे सार्वजनिक संकल्प प्रस्ताव अघि सारेका छन्। 

शर्माले ‘लोकतान्त्रिक संस्कृतिमा क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’ शीर्षकको विशेष प्रतिवेदन पेस गर्दै उक्त संकल्प प्रस्तावहरू सार्वजनिक गरेका हुन्। कांग्रेसभित्र बढ्दै गएको व्यक्ति केन्द्रित राजनीति, स्थायी गुटबन्दी, अपारदर्शिता र नेतृत्व दोहोरिने प्रवृत्तिको कठोर चिरफार गर्दै उनले पार्टीलाई नयाँ ढंगले पुनर्जागरणतर्फ लैजानुपर्नेमा जोड दिएका छन्। 

यस्ता छन् विश्वप्रकाश शर्माले अघि सारेका १५ संकल्प प्रस्तावहरू:

१. व्यक्ति केन्द्रित राजनीति नगर्ने: पार्टीभित्र नीति र विचारभन्दा व्यक्तिलाई केन्द्रमा राखेर गरिने राजनीतिक परिपाटीको अन्त्य गर्ने।
२. स्थायी गुटलाई संगठनको आधार नबनाउने: चुनाव वा आन्तरिक प्रतिस्पर्धाका बेला बन्ने गुटहरूलाई स्थायी संरचनाका रूपमा संस्थागत हुन नदिने।
३. नेतृत्व दोहोरिने प्रवृत्तिको अन्त्य: एउटै व्यक्तिले आफ्नो प्रभाव र शक्तिका आधारमा पटक–पटक एउटै पद ओगटिरहने प्रवृत्तिको अन्त्य गर्ने।
४. विचार र सिद्धान्तमा अडिग रहने: व्यक्तिगत वा दलीय अवसर र फाइदाका आधारमा पार्टीको मौलिक विचार र सिद्धान्तलाई परिवर्तन नगर्ने।
५. समान र न्यायोचित अवसर: पहुँच र शक्तिको प्रभावका आधारमा मात्र उम्मेदवारी वा टिकट वितरणमा प्राथमिकता दिने व्यवस्था बन्द गर्ने।
६. अपारदर्शिताको पूर्ण अस्वीकार: पार्टी नेतृत्व, साधारण सदस्य र विभिन्न समितिहरूमा हुने अपारदर्शी निर्णय प्रक्रियालाई स्वीकार नगर्ने।
७. नागरिक जनादेशको सम्मान: जनताले दिएको मत र जनादेशलाई कहिल्यै पनि दम्भ वा अहंकारमा परिणत हुन नदिने।
८. घोषणापत्रको पूर्ण कार्यान्वयन: चुनावका बेला जनतामाझ लगिने चुनावी घोषणापत्रलाई बिर्सिने दस्तावेज मात्र नबनाई अक्षरशः कार्यान्वयन गर्ने।
९. राजनीतिक संरक्षणको अन्त्य: कानुनी प्रक्रिया वा अपराध अनुसन्धानका क्षेत्रमा राजनीतिक शक्तिका आधारमा संरक्षण दिने विसंगतिलाई पूर्ण रूपमा निषेध गर्ने।
१०. सार्वजनिक पदको दुरुपयोग रोक्ने: राजकीय वा सार्वजनिक पदहरूलाई व्यक्तिगत लाभ र स्वार्थपूर्तिको माध्यम बन्न नदिने।
११. सामाजिक सञ्जालमा शिष्टता: सामाजिक सञ्जालहरूलाई पार्टीको आन्तरिक विवाद र एकअर्काविरुद्ध हिलो छ्यापाछ्याप गर्ने अखडा बन्न नदिने।
१२. युवा नेतृत्वको ग्यारेन्टी: योग्य र क्षमतावान् युवा पुस्तालाई केवल उमेरकै कारण नेतृत्व पाउनबाट वञ्चित नगर्ने र उनीहरूलाई उपयुक्त अवसर दिने।
१३. अर्थपूर्ण समावेशिता: पार्टीका संरचनाहरूमा समावेशितालाई केवल संख्या र कोटा पुर्‍याउने माध्यम मात्र नबनाई अर्थपूर्ण सहभागिता गराउने।
१४. योगदानको सही मूल्याङ्कन: पुराना नेता–कार्यकर्ताहरूको योगदानको उच्च कदर गर्ने तर विगतको योगदानलाई मात्रै सधैँ योग्यताको एकमात्र आधार नबनाउने।
१५. संस्था र मूल्यलाई प्राथमिकता: क्षणिक व्यक्तिगत वा गुटीय स्वार्थभन्दा माथि सधैँ संस्था, लोकतान्त्रिक मूल्य–मान्यता र विचारलाई राख्ने। 

उपसभापति शर्माले पेस गरेको यो १५ बुँदे मार्गचित्रले कांग्रेसको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने विश्वास गरिएको छ। विशेषगरी युवा पुस्ताको नेतृत्वमा पहुँच र पार्टीको आर्थिक एवं राजनीतिक पारदर्शिताका सवालमा यो प्रतिवेदनलाई महाधिवेशन प्रतिनिधिहरूले निकै चासोका साथ हेरेका छन्। 

यसअघि उद्घाटन सत्रमा समेत विश्वप्रकाश शर्माले देश र पार्टी बदल्नका लागि कांग्रेसभित्र नयाँ पुस्ताको ऊर्जा र पुरानाको अनुभवलाई सँगै लैजानुपर्ने धारणा राखेका थिए। बन्दसत्रमा प्रस्तुत यो संकल्प प्रस्तावमाथि देशभरबाट आएका प्रतिनिधिहरूबीच समूहगत रूपमा सघन छलफल सुरु भएको छ।

सोमबार १९ असोज २०८३ १०:४० AM मा प्रकाशित

प्रतिक्रिया