×

मेक्सिकन सेनाले गोली चलाएको गाडीमा सवार ११ मध्ये तीन नेपाली घाइते

images

काठमाडौं । मेक्सिकन सेनाले गोली चलाएको गाडीमा ११ जना नेपाली रहेको पुष्टि भएको छ । अमेरिकास्थित नेपाली दूतावासका अनुसार उक्त गाडीमा सवार ११ मध्ये तीन नेपाली घाइते भएका छन् । 

दूतावासका अनुसार घाइते तीन नेपालीको उपचार भइरहेको छ । उनीहरू सबै मेक्सिकोको अध्यागमन अधिकारीको नियन्त्रणमा छन् । 

अमेरिकास्थित नेपाली दूतावासले शनिबार त्यसबारे जानकारी गराउँदै मंगलबार भएको उक्त घटनामा कोही पनि नेपाली नमारिएको तर ३ जना घाइते भएको उल्लेख गरेको छ। ग्वाटेमाला–मेक्सिको सीमा क्षेत्रबाट आप्रवासीहरुलाई लिएर अमेरिका जान हिँडेको गाडीलाई मेक्सिको सेनाले आफ्नो सुरक्षा पोष्ट भएको क्षेत्रमा रोक्न खोज्दा उक्त गाडी नरोकी भागेपछि गोली चलाएको थियो।

सेनाको गोली प्रहारबाट ६ जनाको मृत्यु भएको, १० घाइते भएको र मृत्यु हुनेमा नेपाली नागरिक पनि रहेको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका थिए। दूतावासले घाइते ३ जना नेपालीको उपचार भइरहेको र त्यहाँ पक्राउ परेका सबै नेपाली मेक्सिको अध्यागमनको हिरासतमा रहेको जानकारी दिएको छ। दूतावास मेक्सिकोका सरकारी अधिकारीहरुसँग सम्पर्कमै रहेको उल्लेख गरेको छ।

शनिबार १९ असोज २०८१ ०७:५५ PM मा प्रकाशित

प्रतिक्रिया