×

विकासको खाडललाई कम गर्न क्षेत्रीय ऐक्यबद्धता र विश्वव्यापी सहयोग महत्वपूर्ण- प्रधानमन्त्री ओली

images

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तुर्कमेनिस्तान शुरु भएको भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको प्लेनरीसत्रलाई सम्बोधन गरेका छन् ।

प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै भूपरिवेष्टित विकासशील राष्ट्रहरू अहिले पनि पूर्वाधार र कनेक्टिभिटी, उच्च व्यापार र पारवहन लागत, सीमित विविधीकरण र थोरै मूल्य अभिवृद्धि, प्राथमिक वस्तु निर्यातमा भारी निर्भरता, निजी लगानीको कम स्तर र जलवायु परिवर्तन र प्रकोपहरूको बढ्दो जोखिम जस्ता समस्याबाट जुधिरहेको बताएका छन् । उनले यी अवरोधहरूले भूपरिवेष्टित विकासशील राष्ट्रहरूको आर्थिक वृद्धि र विकासमा गम्भीर बाधा पुगेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले यी समस्याहरुबाट अगाडी बढ्न बलियो राजनीतिक इच्छाशक्ति, कुनै पनि देशलाई पछाडि नछाड्ने गरी नवीकरण गरिएको र बलियो विश्वव्यापी साझेदारी आवश्यक रहेको बताएका छन् । 

उनले विकासको खाडललाई कम गर्न क्षेत्रीय ऐक्यबद्धता र विश्वव्यापी सहयोग महत्वपूर्ण छ भन्ने कुरामा नेपाल दृढ विश्वास गर्ने उनले बताए । उनले भने- 'हाम्रा छिमेकीहरू, भारत र चीन र बृहत् अन्तर्राष्ट्रिय समुदायको निरन्तर सहयोगमा, हामी 'भूपरिवेष्ठितता' का अवरोधहरूलाई अवसरको प्रवेशद्वारमा रूपान्तरण गर्न सक्छौं भन्ने कुरामा हामी विश्वस्त छौं ।'

उनले भूपरिवेष्ठितबाट भू-जडितमा, पारवहन-निर्भरबाट व्यापार-प्रतिस्पर्धीमा र जलवायु-जोखिमपूर्णबाट जलवायु-लचिलो देशहरूमा परिवर्तन गर्न आवश्यक रहेको बताए ।

साथै प्रधानमन्त्री ओलीले यस सम्मेलनले संरचनात्मक रूपान्तरण, व्यापार सहजीकरण र क्षेत्रीय एकीकरण, पारवहन, यातायात र कनेक्टिभिटी, जलवायु लचिलोपन र अनुकूलन तथा कार्यान्वयनका माध्यमहरू बारे स्पष्ट प्राथमिकताहरू तय गर्नुपर्ने बताएका छन् ।

 

मङ्गलबार २१ साउन २०८२ ०६:१० PM मा प्रकाशित

प्रतिक्रिया