×

धवल र दुर्गा प्रसाईंले गठन गरे ‘जय नेपाल पार्टी’, राणा सभापति र प्रसाईं सर्वोच्च नेता

images

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका डा.धवलशमशेर जबरा र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं मिलेर नयाँ राजनीतिक दल गठन गरेका छन्। उपसमितिको सिफारिसका आधारमा उनीहरूले नयाँ दलको नाम ‘जय नेपाल पार्टी’ तय गरेका हुन्।

सहमति अनुसार नवगठित जय नेपाल पार्टीको कार्यकारी अधिकार सहितको सभापतिमा डा। धवलशमशेर जबरा र सर्वोच्च नेतामा दुर्गा प्रसाईं रहने निर्णय भएको छ। हालका लागि अन्य पदाधिकारीहरू चयन नगरिएको र तत्कालका लागि छरितो (प्लेन) केन्द्रीय समिति बनाएर आवश्यकता अनुसार नेताहरूलाई जिम्मेवारी तोकिने अध्यक्ष राणाले जानकारी दिएका छन्।

नयाँ दल दर्ताका लागि दुवै समूह आवश्यक कानुनी प्रक्रिया पूरा गरी आगामी साउन २८ गते निर्वाचन आयोग जाने तयारीमा जुटेका छन्। विगत केही महिनादेखि कार्यगत एकता गर्दै आएका राणा र प्रसाईं समूहले विभिन्न चरणको गृहकार्य र उपसमितिको सुझावपछि दलको नाम र नेतृत्वको टुङ्गो लगाएका हुन्।


‘जय नेपाल पार्टी’ले देशको विद्यमान राजनीतिक व्यवस्थाको विकल्प प्रस्तुत गर्ने दाबी गरेको छ। पार्टीका मुख्य एजेन्डाहरू यस प्रकार रहेका छन्:

सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य र प्रजातान्त्रिक प्रणालीको पुनर्स्थापना।
मुलुकमा संवैधानिक राजसंस्था र आर्थिक उन्नतिका एजेन्डालाई प्राथमिकता।
लघुवित्त, सहकारी पीडित तथा सुकुम्बासीहरूका हकहितका लागि कडा आवाज उठाउने।
निमुखा र सर्वसाधारण जनताको न्यायका लागि देशव्यापी अभियान सञ्चालन गर्ने।

राप्रपाका पूर्वमहामन्त्री समेत रहेका राणा र व्यवसायी प्रसाईंको यो नयाँ राजनीतिक कदमलाई नेपाली राजनीतिमा निकै चासोका साथ हेरिएको छ। दुवै नेताले देशलाई नयाँ दिशा दिन र राष्ट्रियता रक्षाका लागि यो दल वैकल्पिक शक्तिका रूपमा उदाउने दाबी गरेका छन्। 

बुधबार २० साउन २०८३ ०७:०६ PM मा प्रकाशित

प्रतिक्रिया