×

एमालेको बेलुन छिट्टै फुट्नेवाला छ- प्रधानमन्त्री प्रचण्ड

images

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एमालेको अहिलेको बेलुन पनि छिट्टै फुट्ने टिप्पणी गरेका छन् । आफ्नो एक अभिव्यक्तिलाई लिएर एमालेले आक्रामक नीति लिएपछि प्रधानमन्त्री दाहालले एमालेको उक्त बेलुन पनि छिट्टै फुट्नेवाला रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले सिंहले पुस्तकमा लेखिएको बिषयलाई आफुले जस्ताको तस्तै राखेको भएपनि त्यसलाई अतिरञ्जीत गर्न खोजिएको र त्यसले आफुलाई कुनै फरक नपर्ने जिकिर गरे ।

सरदार प्रीतम सिंहको बारेमा दिएको अभिव्यक्तिलाई लिएर एमालेले बबन्डर मच्चाउन खोजेको प्रधानमन्त्री दाहालको टिप्पणी छ । आज (बुधवार) पार्टीनिकट अनेरास्ववियु क्रान्तिकारीको स्ववियु काउसिन्लको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा दाहालले यस्तो बताएका हुन् ।

सो क्रममा प्रधानमन्त्री दाहालले प्रितम सिंहबारे दिएको अभिव्यक्तिको बचाउ पनि गरेका थिए । उनले पुस्तक विमोचन कार्यक्रममा सामाजिक सेवा र यातायातको क्षेत्रमा मात्रै नभई राजनीतिमा पनि सिंह चासो राख्ने व्यक्ति भएको र आफूलाई प्रधानमन्त्री बनाउनका लागि कहिले दिल्ली, कहिले नेपालका पार्टीहरूसँग लाग्नुहुन्थ्यो भन्ने अभिव्यक्ति दिएको स्पष्ट पारे ।

दाहालले थपे,‘अब आज म सुन्दैछु, एउटा किताब विमोचन गर्दै गर्दा मैले बोलेको, उसले बोलेको कुरा मैले बोलेको, मेरो कुरा होइन । उसले बोलेको । मैले भने उहाँ सामाजिक सेवा र यातायातको क्षेत्रमा मात्रै होइन, राजनीतिमा पनि उहाँले चासो राख्नुहुन्छ । उहाँले मलाई प्रधानमन्त्री बनाउन कहिले कहाँ पुग्नुहुन्छ, कहिले कहाँ पुग्नुहुन्छ, कहिले दिल्ली, कहिले नेपालका पार्टीहरूसँग लाग्नुहुन्थ्यो उहाँ भन्ने उहाँको बारेमा भनेको कुरालाई अब त्यसलाई उचालेर फेरि एकपटक बबन्डर गर्न खोजिएको छ, त्यो बेलुन पनि छिटै फुट्नेवाला नै छ । त्यसले केही दिनेवाला छैन । हाम्रा विपक्षीमा कति धेरै विक्षिप्तता छ, कति धेरै पूर्वाग्रह छ भन्ने कुरा देखिन्छ ।’

उनले माओवादी शक्तिहरूबीच एकताको राम्रो आधार बन्न लागेको र बृहत एकतासहित अगाडि बढ्ने तयारी भइरहेको उल्लेख गरे। माओवादीलाई घेरा हाल्ने, भ्रम छर्ने प्रतिक्रियावादी षड्यन्त्र अहिले पनि जारी रहेकाले २०८४ को निर्वाचनमा २०६४ भन्दा शक्तिशाली हुनेगरि परिणाम दिनुपर्ने उनले बताए।

उनले सामाजिक न्याय, सुशासन र समृद्धिका लागि सम्पूर्ण रूपले समर्पित हुने भन्दै सरकार असफल पार्ने, कुप्रचार गर्ने षड्यन्त्रहरुलाई जनताले ठिक पार्ने उल्लेख गरे।

यता, एमालेले भने प्रधानमन्त्री दाहालको त्यही अभिव्यक्तिलाई लिएर सदन अवरुद्ध गर्ने निर्णय गरेको छ । साथै, प्रधानमन्त्री दाहालले राष्ट्रियताविरुद्ध अभिव्यक्ति दिएको भन्दै राजीनामा माग्ने पनि एमाले संसदीय दलको निर्णय छ । एमालेले राष्ट्रियसभाको बैठक भने अवरुद्ध गरिसकेको छ ।

बुधबार २० असार २०८० ०८:१९ PM मा प्रकाशित

प्रतिक्रिया