×

राष्ट्रको नेतृत्व गर्ने व्यक्तिमा परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टि नहुँदा राष्ट्रले गम्भीर चुनौतीहरू सामना गर्नुपर्ने अवस्था आउन सक्छ

images

काठमाडौँ । नेपाल-भारत सीमा विवाद र प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को हालैको अभिव्यक्तिलाई लिएर बहस तातिरहेका बेला महानायक राजेश हमालले पनि आफ्नो धारणा सार्वजनिक गरेका छन्। अभिनेता हमालले देशको नेतृत्व गर्ने व्यक्तिमा पर्याप्त परिपक्वता र दूरदृष्टि नहुँदा राष्ट्रले गम्भीर संकट भोग्नुपर्ने चेतावनी दिएका छन्।

गत आइतबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन शाहले 'नेपालले पनि भारतको जमिन मिचेको' आशयको अभिव्यक्ति दिएका थिए। सोही अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला हमालले सामाजिक सञ्जालमार्फत कूटनीतिक र सीमा सम्बन्धी विषयमा नेतृत्व गम्भीर हुनुपर्ने औँल्याएका हुन्।

 

अभिनेता हमालले सीमा सम्बन्धी बहसमा आउने दुईवटा शब्दावली—'सीमापार अतिक्रमण' (Cross-Border Occupation) र 'राज्य-प्रायोजित भू-अतिक्रमण' (State-Sponsored Territorial Encroachment) बीचको भिन्नता प्रष्ट पारेका छन्। यी दुवैलाई एउटै अर्थमा बुझ्नु गलत हुने उनको तर्क छ।

हमालका अनुसार:

  • सीमापार अतिक्रमण: यो विषय सरकारभन्दा बढी स्थानीय नागरिक र भौगोलिक अवस्थासँग जोडिएको हुन्छ। खुला सिमानाका कारण नदीले धार परिवर्तन गर्दा, सीमा स्तम्भहरू हराउँदा वा स्थानीय स्तरमा खेतीपाती र बसोबासका क्रममा यस्ता सामान्य समस्या देखिन्छन्। यसलाई आपसी संवाद र संयुक्त सर्वेक्षणबाट सहजै सुल्झाउन सकिन्छ।

  • राज्य-प्रायोजित भू-अतिक्रमण: यो पूर्णतः फरक र गम्भीर प्रकृति हो, जहाँ कुनै देशको राज्य संयन्त्र नै प्रत्यक्ष संलग्न भएर विवादित भूमिमा आफ्नो नियन्त्रण जमाउन खोज्छ। यसको उदाहरण दिँदै हमालले भारतद्वारा मिचिएको कालापानी-लिपुलेक-लिम्पियाधुरा क्षेत्रको प्रसंग उल्लेख गरेका छन्। जहाँ सडक निर्माण, प्रशासनिक संरचना, र सुरक्षा निकाय परिचालन गरेर राज्यस्तरबाटै अतिक्रमण गरिएको छ।

नेतृत्वमा अपरिपक्वता भए देश संकटमा

आजको अस्थिर र अनिश्चित विश्व राजनीतिक परिवेशमा देश हाँक्ने व्यक्तिमा कूटनीतिक परिपक्वता, अनुभव र निर्णय क्षमता हुनु अनिवार्य रहेको हमालले उल्लेख गरे।

"कुनै राष्ट्रको नेतृत्व गर्ने व्यक्तिमा पर्याप्त परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टि नहुँदा राष्ट्रले गम्भीर चुनौतीहरू सामना गर्नुपर्ने अवस्था आउन सक्छ," हमालले सामाजिक सञ्जालमा लेखेका छन्।

प्रधानमन्त्री बालेन शाहको विवादास्पद कूटनीतिक अभिव्यक्तिका कारण राष्ट्रिय राजनीति र बौद्धिक वृत्त तरङ्गित भइरहेका बेला महानायक हमालको यो टिप्पणीलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

शुक्रबार​ २२ जेठ २०८३ ०२:४७ PM मा प्रकाशित

प्रतिक्रिया