×

स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक अध्यक्ष सर्वेश जोशी पक्राउ

images

काठमाडाैं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले स्मार्ट टेलिकम (स्मार्ट सेल) का अध्यक्ष सर्वेश जोशीलाई नियन्त्रणमा लिएको छ। ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा जोशीलाई सोमबार काठमाडौंको खुर्सानीटारबाट पक्राउ गरिएको हो। 

स्मार्ट टेलिकम प्रा. लि. ले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेपछि दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) बमोजिम २०८० वैशाख ३ गतेदेखि यसको अनुमतिपत्र स्वतः रद्द भएको थियो। अनुमतिपत्र रद्द भएपछि 'दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९' को नियम १८ बमोजिम कम्पनीको सम्पूर्ण सम्पत्ति, भौतिक पूर्वाधार, संरचना र सञ्जाल नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो नियन्त्रणमा लिएको थियो।

सरकारी नियन्त्रणमा रहेको उक्त सम्पत्ति र संरचनालाई बेइमानीपूर्वक नेपाल सरकारको हक टुटाउने उद्देश्यले काम गरी ठगी तथा आपराधिक विश्वासघात गरेको आरोप जोशीमाथि लागेको छ। काठमाडौं महानगरपालिका वडा नं. २, खुर्सानीटार बस्ने जोशीलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई नियन्त्रणमा लिइएको ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठले जानकारी दिएका छन्। उनीमाथि अहिले हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।

मङ्गलबार २२ बैशाख २०८३ १२:३३ PM मा प्रकाशित

प्रतिक्रिया