धनगढी –पानी जहाजमा जागिर लगाइदिने भन्दै एक गिरोहले २ सय युवाहरूलाई ठगी गरेको छ । उक्त गिरोहले कैलाली र बर्दियाका झण्डै २ सय युवाहरूबाट करिब ४ करोड रुपैयाँ ठगी गरेको हो । गिरोहमा बर्दिया राजापुर नगरपालिका ५ पहाडीपुरका ३६ वर्षका हिमांशु चौधरी र कैलाली जानकी गाउँपालिका पथरैयाका मनोज चौधरी रहेका छन् ।
उनीहरुले युवाहरूलाई सम्पर्कमा ल्याउन गाउँ गाउँमा एजेन्ट समेत राखेको पाइएको छ । युवाहरुले गिरोहलाई दुईदेखि पाँच लाखसम्म तिरेको बताएका छन् । उनीहरु मध्ये कसैले नगद र कसैले बैंक चेक मार्फत गिरोहलाई रकम बुझाएका हुन । गिरोहले युवाहरूलाई रोयल केरिभ्यान संस्थाको पानी जहाजमा जागिर लगाइदिने आश्वासन दिएका थिए ।
यसै क्रममा युवाहरूलाई भारतको लखनउ घुम्तिनगरस्थित समुद्री ज्ञान मारिन एकेडेमीमा पानी जहाज सम्बन्धी प्रशिक्षण दिएको थियो । उनीहरुलाई डेढ वर्षअघि पहिलो चरणमा १५ दिने सुरक्षा सम्बन्धी तालिम दिइएको थियो । पहिलो चरणको तालिम पश्चात् युवाहरूलाई घर पठाइएको थियो । उनीहरुलाई २०८१ दसैँ अघि दोस्रो चरणको दुई महिने थप तालिम दिइएको थियो ।
युवाहरुले गिरोहका नाईके हिमांश चौधरीलाई बर्दियाको राजापुरबाट समातेका छन् । ठगिने मध्ये जानकी गाउँपालिका –८ भगरैयाका शंकर चौधरीका अनुसार हिमांशु चौधरी सम्पर्क बिहिन भएका छन् भने अर्का मनोज चौधरी भारतको मुम्बई पुगेका छन् ।
गिरोहले यसै गरी पानी जहाजमा जागिर लगाइदिने भन्दै तालिम पश्चात् भारतको मुम्बई पुर्याएका थप ३० मध्ये २१ जना समेत घर फर्किएका छन् । ठगिएकाहरुले बर्दियाको इलाका प्रहरी कार्यालय राजापुर र कैलालीको इलाका प्रहरी कार्यालय टीकापुरमा उजुरी दिन खोजे पनि प्रहरीले उजुरी लिन मानेन । प्रहरीले उजुरी लिन नमाने पछि उनीहरु प्रशासन कार्यालय पुगेका छन् । अत्तरिया अनलाइन डट्कम
प्रतिक्रिया