काठमाडौं । रष्ट्रियसभा सदस्य उर्मिला अर्यालले राष्ट्रियसभा उपाध्यक्षको सोमबार हुने निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेकी छन् । अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ, देवेन्द्र दाहाल र खिमलाल देवकोटा समर्थक रहेको संसद सचिवालयले जनाएको छ ।
सोमबार हुने निर्वाचनका लागि सचिवालयले आइतबार उम्मेदवारी दर्ताको समय तय गरेको थियो । नेपाली कांग्रेसले आफ्नो उम्मेदवारी दिने निर्णयबाट पछि हटेपछि राष्ट्रियसभा उपाध्यक्षमा अर्याल निर्विरोध निर्वाचित हुने निश्चित भएको हो । यद्दपि मनाेनयन दर्ताको समय ४ बजेसम्म बाँकी नै रहेकाे छ ।
शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र लोसपा अध्यक्ष महन्थ ठाकुरसँग छलफलसमेत गरेका थिए । तर, आइतबार देउवा निवासमा बसेको कांग्रेससहित विपक्षी दलहरूको बैठकले माओवादीविरुद्ध उम्मेदवारी नदिने निर्णय गरेको हो ।
राष्ट्रपति चुनावलाई लक्षित गरेर कांग्रेसले माओवादीलाई साथ दिँदै आएको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेसले एमाले र रास्वपा उम्मेदवार बनेका सभामुख र उपसभामुखमा भने आफ्ना उम्मेदवार खडा गरेको थियो ।
प्रतिक्रिया