पिंगलास्थानको होटेलमा सुस्मितासँगै बसेका फरार देवबहादुर झुन्डिएको अवस्थामा भेटिए

    images

    काठमाडौंको पिंगलास्थानस्थित होटेलमा मृत फेला परेकी सुस्मिता खड्कासँगै बसेर फरार भएका युवक झुन्डिएको अवस्थामा फेला परेका छन् । ओखलढुंगाका २३ वर्षीय देवबहादुर थापा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

    काठमाडौँको कागेश्वरीकी २२ वर्षीया सुस्मिता खड्का पुस १६ गते (मंगलबार) बागमती होटेलको ३०८ नम्बर कोठामा मृत फेला परेकी थिइन् । युवती मृत फेला परेपछि प्रहरीले हत्याको आशंका गरेको थियो ।

    शनिबार दिउँसो उनी ओखलढुंगाकै सुनकोसी गाउँपालिका–३, सिस्नेरीमा झुन्डिएको अवस्थामा फेला परेको ओखलढुंगाका डीएसपी कृष्ण खड्काले जानकारी दिए ।

    “देवबहादुर झुन्डिएको अवस्थामा मृत फेला परेका छन्, उनको बारेमा अनुसन्धान भइरहेको छ,” डीएसपीले खड्काले भने ।

    युवतीको मृत्युको कारण अझै खुलेको छैन । देवबहादुरसँगै पिंगलास्थानस्थित वाग्मती होटेलको ३०८ नम्बर कोठामा बस्न पुगेकी २२ वर्षीया सुस्मिताको शव गएको बुधबार फेला परेको थियो ।

    सुस्मिताको हत्या गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले निष्कर्ष निकालेको छ । सँगै होटेलमा बसेका देवबहादुर त्यस दिनयता फरार थिए । देवबहादुर र सुस्मिता पुस १६ गते (मंगलबार) उक्त होटोलमा बस्न पुगेको खुलेको छ ।

    सुस्मिताको शरीरको बाहिरी भागमा कुनै चोटपटक छैन । प्रहरीले उनको शव पोस्टमार्टमका निम्ति महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाएको छ । तर, पोस्टमार्टम रिपोर्ट नआउँदा मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

    देवबहादुर होटेलको कोठाको ढोकाबाहिर चाबी लगाएर भागेका थिए । गएको मंसिर ३० गते मात्र उनी जापानबाट काठमाडौं आएको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ । सुस्मिता समेत जापान जाने तयारीमा थिइन् ।

    आइतबार​ २१ पुस २०८१ ०८:०९ AM मा प्रकाशित

    प्रतिक्रिया