काठमाडाैं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन नगरी एक्लै चुनाव लड्नेगरी अघि बढ्ने प्रस्ताव प्रस्तुत गरेका छन्। आइतबारबाट काठमाडौंमा सुरु माओवादी केन्द्रको केन्द्रीय समितिको पूर्ण बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै प्रचण्डले आगामी निर्वाचनमा कांग्रेस र एमाले जस्ता पार्टीसँग मिलेर चुनाव नलड्ने र एक्लै चुनाव लड्नेगरि अघि बढ्ने प्रस्ताव प्रस्तुत गरेका हुन्।
त्यस्तै प्रतिवेदन पेश गर्दै अध्यक्ष प्रचण्डले बैज्ञानिक समाजवाद मान्नेहरुसंगै एकता गरेर अघि बढ्ने बताउनुभएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘पार्टी एकता र बृहत वामपन्थी एकीकरणको सन्दर्भमा अहिले मोर्चा छ, त्यसलाई सक्रिय गराउने त कुरा भइहाल्यो । त्यसका साथसाथै वैज्ञानिक समाजवादलाई मान्नेहरुसँग एकताको लागि पहल गर्ने । त्यसो हुँदा विप्लव, नेकपा (बहुमत), एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, प्रभु शाहको आम जनता पार्टीसित पनि एकताको लागि पहल गर्ने भन्ने कुरा भएको छ ।’
अध्यक्ष प्रचण्डले अहिले देशैभरी सकारात्मक भाइब पैदा भएको र यथास्थितिबाट अगाडि बढ्नुपर्ने, जनतातिर फर्किनुपर्ने र विभिन्न अभियान चलाउन आवस्य रहेको जानकारी गराएका थिए । प्रचण्डले फागुन १ गतेदेखि १ महिना तराई–मधेश जागरण अभियान र हुलाकी राजमार्गलाई आधारित बनाएर अर्को एक महिने अभियान चलाउन प्रस्ताव गरेका छन् । उनले सो अभियानमा अध्यक्षलगायत सबै पदाधिकारीहरु सहभागी हुनुपर्ने बताएका छन् ।
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा बहुमत, विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य, प्रभु साहलगायतका पार्टीहरुसँग एकताको पहल गर्ने प्रस्ताव प्रचण्डको रहेको सापकोटाले जानकारी दिए।
अहिले माओवादीको पक्षमा देशैभर सकारात्मक ऊर्जा पैदा भएको र यथास्थितिबाट जनतामाझ फर्किनुपर्नेमा प्रचण्डको जोड रहेको छ। यसका लागि फागुन १ देखि तराई मधेश जागरण अभियान र अर्को एक महिना पूर्वपश्चिम अभियान सञ्चालन गरि अध्यक्ष लगाएत सवै पदाधिकारी सामेल हुनुपर्ने प्रस्ताव समेत प्रचण्डको रहेको प्रवक्ता सापकोटाले जानकारी दिए।
अग्रगमनका पक्षमा संविधान संशोधनका लागि बहस र छलफल चलाउनुपर्ने, संक्रमणकालीन न्यायसंगसम्बन्धी समितिको पदाधिकारी नियुक्त गर्न पहल गर्ने लगाएका बिषय अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा उल्लेख गरेको सापकोटाले बताए।
बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदनसँगै बिभिन्न प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी लगाएतले रिर्पोटिङ गरेका थिए। उनीहरुको रिपोर्टिङमा देशैभर माओवादी प्रवेश गर्नेको लहर चलेको र पार्टीलाई बलियो बनाएर अघि बढाउनुपर्नेमा केन्द्रीत रहेको प्रवक्ता सापकोटाले बताए।
बैठकमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङलाई आमन्त्रित सदस्यको रुपमा बोलाइएको भन्दै सापकोटाले पदका बिषयमा कुनै छलफल नभएको जिकिर गरे। केन्द्रीय समितिको पूर्ण बैठक सोमबार बिहान ११ बजे बस्ने र बिभिन्न प्रतिवेदनमाथि छलफल हुने माओवादी केन्द्रले जनाएको छ।
प्रतिक्रिया