×

रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप

images

काठमाडौं : रास्वपा सभापति रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप भएको छ।  रवि लामिछानेलाई रिहाइ गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप भएको हो। झडपका क्रममा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन्। रास्वपा समर्थकहरुले निषेधित घेरा तोडेपछि प्रहरीले बल प्रयोगसमेत गरेको थियो । चितवनको चौविसकोटीबाट प्रदर्शन गर्दै अघि बढेको प्रदर्शनकारी जिल्ला प्रहरी कार्यालय अघि पुगेपछि प्रहरीले रोक्न खोजेको थियो।

प्रदर्शनकारीलाई रोक्न प्रहरीले पानीको फोहरा र अश्रुग्यास समेत प्रहार गरेको छ। चितवनमा साहारा सहकारीको रकम अपचलन गरेको आरोपमा बयानका लागि रविलाई चितवन लगेसंगै उनका समर्थकहरुले निरन्तर प्रदर्शन गरिरहेका छन्। उनीहरुले चितवनबाटै रविलाई रिहाईको माग गरेका छन्।


रास्वपाका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरणको अभियोगमा रास्वपा सभापति लामिछाने गत कार्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् ।

संयमता अपनाउँदा अपनाउँदै प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगा प्रहार गरेकाले प्रतिरक्षाको लागि बल प्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ । प्रदर्शनकारीले हानेको ढंगाले लागेर २० जनाभन्दा बढी प्रहरी घाइते भएको बताइएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गर्नुका साथै पानीको फोहरा अश्रुग्यास प्रहरा गरेको थियो ।

प्रदर्शनकारीतर्फ पनि १० जनाभन्दा बढी घाइते भएको बताइएको छ । चितवनको सहारा सहकारी ठगीमा पनि संलग्नता देखिएको भन्दै लामिछानेलाई हिजो त्यहाँ लगिएको थियो । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारीलगायतको सहकारी ठगीमा लामिछानेको संलग्नता देखिएको भन्दै त्यहाँ उनको बयान भइसकेको छ । जिल्ला प्रहरी कार्यालय अगाडि भएको झडप अहिले केही मत्थर भएको प्रहरीले जनाएको छ ।

बुधबार १९ मंसिर २०८१ ०२:२१ PM मा प्रकाशित

प्रतिक्रिया