×

नैतिक र चरित्रहीनलाई पार्टीमा स्थान छैन : अध्यक्ष ओली

images

काठमाडौँ ।  प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी दुर्गन्धित ढल हुन नसक्ने बताएका छन्। बुधबार केन्द्रीय कार्यालयमा बसेको पोलिटब्युरो बैठकमा सदस्यहरूले पार्टीमा अनुशासनहीनता बढेको र नैतिक आचरणमा प्रश्न उठ्न थालेको बताएका हुन।  बैठकमा अध्यक्ष ओलीले पार्टीलाई बलियो, सुदृढ र निर्णायक शक्ति बनाउने उद्देश्य अनुसार अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 

त्यस्तै पार्टीभित्र अनुशासनहीन, चरित्रहीन गतिविधि बढे भनेर उठेका प्रश्नमा अध्यक्ष ओलीले एमाले कुनै ढल नभएको बताएका थिए । ‘कि राजनीति गर कि इन्ज्वोए गर’, ओलीले भने, ‘राजनीति र इन्ज्वे गर्न पाइँदैन । चरित्र, आचरण, नैतिकहीन कुरा पार्टीलाई सह्य  छैन । साथै उनले नेतालाई  काठमाडौं बस्ने प्रवृत्ति घटाउन निर्देशन दिएका हुन् । एक घण्टा बढी सम्बोधन गरेका ओलीले आगामी चुनावबाट पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन अनुशासित ढंगले नेताहरु परिचालित हुनुपर्ने बताए ।

‘अहिले पनि हामी राष्ट्रिय शक्ति हौं, तर चुनावपछि निर्णायक राष्ट्रिय शक्ति बन्ने हो’ प्रधानमन्त्री ओलीको भनाइ उदृत गर्दै पोलिटब्यूरो सदस्य विशाल भट्टराईले भने । भट्टराईका अनुसार अध्यक्ष ओलीले निर्णायक राष्ट्रिय शक्ति बन्न तीन वर्षसम्म नेताहरुले आ–आफ्नो क्षेत्रमा ध्यान केन्द्रीत गर्नुपर्ने बताए ।

कतिपय नेताहरुमा काठमाडौं बस्ने र नेतृत्वलाई कुरा लगाउँदा हुन्छ भन्ने भ्रम रहेको ओलीले बताए । ‘सबै आफ्नो कार्य क्षेत्र जानु होला । काठमाडौं बसेर नेताको वरिपरी घुमेर हुँदैन । धेरैले मलाई कुरा लगायो भन्नु हुन्छ, त्यस्तो होइन । मसँग सुन्नलाई कान मात्र छैन, खोपडी पनि छ, विवेक छ’ अध्यक्ष ओलीले भने ।

त्यस्तै अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमाले एक्लै निर्वाचन लड्ने तथा तत्काल वामपन्थी एकता वा मोर्चाबन्दी सम्भव नभएको पनि बताएका छन् । 

बैठकको पहिला दिन महासचिव शंकर पोखरेलले ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’, प्रस्ताव पेस गरेका थिए । सोही प्रस्तावमाथि बुधबार पोलिटब्युरो सदस्यहरूले आफ्नो धारणा राखेका थिए । महासचिव पोखरेलले प्रस्ताव गरेको कार्ययोजनामा पार्टीलाई राष्ट्रिय निर्णायक शक्ति बनाउने, सरकार परिचालन, जनतासँग पार्टीलाई पुर्‍याउने लगायत विषय समेटिएका छन् ।

बुधबार १९ भदौ २०८१ ०८:४३ PM मा प्रकाशित

प्रतिक्रिया