×

देशका यी सडक खण्ड हाल अवरुद्ध (सूचीसहित)

images

काठमाडौँ । लगातारको बर्षापछि देशका विभिन्न सडक अवरुद्ध रहेका छन् । संखुवासभास्थित कोशी राजमार्ग, विपी राजमार्ग, रसुवाको मितेरी पुल, पासाङल्हामु सडक खण्ड, कान्ति लोकपथ लगायतका सडक लामो समयका लागि अवरुद्ध रहेका छन् । त्यस्तै गुल्मीका विभिन्न चार सडक आइतबारदेखि अवरुद्ध रहेका छन् । सोमबार बिहानसम्म अवरुद्ध रहेका सडकको विवरण यस प्रकार रहेको छ । 

१.  संखुवासभा: भोटखोला गा.पा.४ बरुणखोला स्थित कोशी राजमार्ग अबरुद्ध । गत जेठ ६ गतेदेखि संखुवासभाको भोटखोला गाउँपालिका-४ स्थित बरुणखोलामा बाढी आई  ह्युम पाइप बगाएको हुँदा खाँदबारीदेखि थुमसुर जाने कोशी राजमार्ग पूर्ण रुपमा अवरोध भएको र बर्षातको अबधिभर सुचारु हुन नसक्ने ।

२- विपि राजमार्ग रातिको समयमा मनसुन अवधिभर बन्द रहने । मनसुन सक्रिय भएकोले बर्षातका कारण विपद्को घटना हुन नदिनको लागि साउन १ गतेदेखि मनसून अवधिभर (प्रत्येक दिन बेलुका ५ बजेदेखि विहान ५ बजे सम्म) १२ घण्टा रातिको समयमा विपि राजमार्गमा सम्पुर्ण सवारी साधन आवागमनमा रोक लगाईएको छ ।

३- रसुवामा बाढीले नेपाल र चीन नाका जोड्ने मितेरी पुल क्षति भएको । असार २४ गते रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ स्थित रसुवागढीमा  बाढी आई नेपाल र चीन नाका जोड्ने पुल बढीले बगाउदा सवारी साधन आवत-जावत बन्द भएको छ ।

४- रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नम्बर २ र ३ स्थित विभिन्न स्थानमा बाढी आई पासाङल्हामु सडक खण्ड अबरुद्ध भएको छ । साउन १४ गतेदेखि रसुवाको गोसाइकुण्डको वडा नम्बर २ स्थित मित्रराष्ट्र चीनको एरियाबाट नेपालतर्फ बग्ने केरुङ खोला र ल्हेन्दे खोला मिसि रसुवागढी नाका हुदै बग्ने भोटेकोशी खोलामा बाढी आई जिल्ला रसुवा गोसाईकुण्ड-२ स्याउँ पार्किङस्थित पासङल्हामु सडक खण्डमा खोलाले १५ मिटर बाटो कटान गरी मोटरसाइकल मात्र जाने बोटो रहेको सोही र जिल्ला रसुवा गोसाईकुण्ड-३ मेदामुदुङस्थित पासङ ल्हामु सडक खण्ड बाढीले ७ मिटर कटान गरी सडक पुर्ण रुपमा अवरोध भएको छ ।

त्यस्तै रसुवाको उत्तरगया- ५ नौबिसेस्थित गल्छि त्रिशुलीदेखि मैलुङ स्याफ्रु तर्फ जाने सडक खण्ड अन्तर्गत त्रिशुली नदीमा आएको बाढीले ६ मिटर चौडाई र १५ मिटर लम्बाई सडक बाटो कटान गरि उक्त सडक अवरुद्द भएको छ ।

५- ललितपुर र मकवानपुर जोड्ने कान्ति लोकपथको बाटोमा मिति २असार १० गतेदेखि अर्को सुचना नआएसम्मको लागि  बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्मको लागि सम्पुर्ण सवारी साधन आवत-जावतमा रोक लगाईएको छ ।

६- रुकुम पश्‍चिमको आठबिसकोट नगरपालिका- ६ स्थितमा  जाजरकोट-डोल्पा सडक खण्ड (भेरी करिडोर)  अबरुद्ध रहेको छ ।असार ९ गतेदेखि रिजिगार खोलामा पानीको वहाब बढेकोले जाजरकोट-डोल्पा (भेरी करिडोर) सडक खण्ड पूर्ण रुपमा अवरोध भएको,मनसुन अवधिभर सञ्चालन नहुने भएको छ ।

७- सिन्धुपाल्चोक भोटेकोशी-२ कोदारीस्थित अरनिको राजमार्ग अबरोध रहेको छ । साउन १८ गते सिन्धुपाल्चोकको भोटेकोशी-२ कोदारीस्थित अरनिको राजमार्गमा पर्ने ईकु पहिरोमा अबिरल बर्षाका कारण सडक माथिबाट पहिरो झरी बाटो पूर्ण रुपमा अवरुद्ध रहेको छ ।

८- हुम्लाको सर्केगार्ड गाउँपालीका-१ खच्चास्थित कर्णाली करिडोर अबरोध रहेको छ । सुन १८ गते हुम्लाको सर्केगार्ड गाउँपालिका-१ खच्चामा माथिबाट पहिरो झरी कर्णाली करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ ।

९- लमजुङको मर्स्याङदी गाउँपालिका- ४ ( बेसिशहर–मनाङ सडक खण्ड )  अवरुद्ध रहेको छ । साउन १८ गतेदेखि लमजुङको मर्स्याङदी- ४ हावाडाँडास्थित बेसिशहर–मनाङ सडक खण्डमा माथिबाट पहिरो आई सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

१०- जाजरकोटको नलगाड नगरपालिका-१२ भिरकुनास्थित जाजरकोट-डोल्पा सडक अवरुद्ध भएको छ । साउन १८ गते अबिरल बर्षाको कारण जाजरकोटको नलगाड-१२ भिरकुनास्थित जाजरकोट-डोल्पा सडकमा लेदोसहितको ढुङ्गा माटो आई  सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

११- सल्यानको राप्‍ती राजमार्ग पूर्ण रुपमा अवरुद्ध रहेको छ । साउन १८ गते सल्यानको कपुरकोट गाउँपालिका-३ चोरखोलास्थित माथिबाट पहिरो आई बाटो पुर्ण रुपमा अबरुद्ध भएको छ ।

१२- गुल्मीका विभिन्न सडक अवरुद्ध भएका छन् ।

- साउन १८ गते कालिगण्डकी गाउँपालिका-१ गरगरे, वडा नम्बर २ को मुल्क, वडा नम्बर ३ को कनौटास्थित कालिगण्डकी करिडोर सडक खण्डमा माथिबाट लेदो सहितको पहिरो आई बाटो पुर्ण रुपमा अवरोध भएको छ ।

- साउन १८ गते सत्यवती-६ उर्लिखोलास्थित डहरेखोलाको पानीको बहाव बढी रुद्रवेणी-वामी सडक खण्ड पुर्ण रुपमा अवरोध भएको छ ।

- साउन १८ गते रुरु-३ सल्लेरीस्थित रिडी तम्घास हाइवे सडक खण्डमा पहिरोको कारण ढुङ्गा खस्न गई बाटो पुर्ण रुपमा अवरोध भएको छ ।

- साउन १९ गते बिहान सत्यवती-५ बादरेभिरस्थित माथिबाट पहिरो आई रुद्रवेणी-वामी सडक खण्ड पुर्ण रुपमा अवरोध भएको छ ।

१३- बझाङको जयपृथ्वी राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । साउन १९ गते बिहान बझाङको छबिसपाथीभेरा गाउँपालिका-१ सुङ्गाला र बालुवाटारमा  राती परेको बर्षाका कारण सडक माथिबाट पहिरो खसी  जयपृथ्वी  राजमार्ग पुर्ण रुपमा अवरोध भएको छ ।

सोमबार २० साउन २०८२ ११:३६ AM मा प्रकाशित

प्रतिक्रिया