×

आजका नेताहरूले गम्भीर समीक्षा गर्न जरुरी छ-प्रचण्ड

images

काठमाडौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतन्त्र र शान्ति प्रक्रियाको परिवर्तनमा स्व. गिरिजाप्रसाद कोइरालाको महत्वपूर्ण योगदान रहेको बताएका छन् ।

गिरिजाप्रसाद कोइरालाको १०२औं जन्मजयन्तीका अवसरमा आज शीतल निवासमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको सरकारले गरेका गतिविधि, संसदीय अभ्यास र न्यायलयका गतिविधि जनतासँग गरेको कबुल विपरीत रहेको बताए ।

अध्यक्ष प्रचण्डले विस्तृत शान्ति सम्झौताको भावना अनुरूप देश अघि बढेकोमा गम्भीर प्रश्न उठाए । ‘हामीले विस्तृत शान्ति सम्झौता गर्दा जनतासँग जे कबुल गरेका थियौं, के त्यतैतिर अगाडि बढेका छौं त ?’ प्रश्न गर्दै उनले भने ।

उनले गिरिजाप्रसाद कोइरालाले देखेको लोकतान्त्रिक मूल्य, पारदर्शी न्याय व्यवस्था, सबल संसद र जनमुखी शासन व्यवस्थालाई कार्यान्वयन गर्न गम्भीरता नदेखिएको उल्लेख गर्दै अहिले नेतृत्वमा रहेकाहरूले आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताए । ‘अहिले चलिरहेको संसदीय अभ्यास, न्याय क्षेत्रको कामकारबाही, सरकारले गरेका गतिविधि — के हामी लोकतन्त्र र परिवर्तनको जनताको अभ्यासतर्फ अग्रसर छौं ?’ उनले भने ।

गिरिजाबाबुको योगदानको सम्मान गर्दै अध्यक्ष प्रचण्डले वर्तमान नेतृत्वले गणतन्त्रमा जनताले देखेका सपना साकार पार्नेतर्फ ठोस कदम चाल्न नसकेकोप्रति चिन्ता व्यक्त गरे । गिरिजाबाबुले जनताको पक्षमा गरेका कामको स्मरण गर्दै गर्दा आजका नेताहरूले गम्भीर समीक्षा गर्न जरुरी छ,’– उनले भने ।

उनले आफू जनताको भावना र समस्या बुझ्न हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्ग केन्द्रित जनतासँगको अभियानमा निस्किएको उल्लेख गर्दै भने, ‘म अहिले जनताको भावना र पिरमर्का बुझ्न अभियानमा निस्केको हुँ । अहिले जे भैरहेको छ, त्यसबाट जनता सन्तुष्ट छैनन् । निष्ठापूर्वक जनताको हितको पक्षलाई प्राथमिकता दिएनौं भने स्थिति गम्भीर छ ।’

कार्यक्रममा उनले वर्तमान सरकार, संसद र न्यायालयको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै सत्ता पक्षले सोचे जस्तै अवस्था सहज नरहेको बताए । ‘सरकार कसरी चलेको छ, संसद र न्यायालयको अवस्था के छ — यो सबै गम्भीर समीक्षा आवश्यक छ,’ उनले भने ।

शुक्रबार​ २० असार २०८२ ०८:२१ PM मा प्रकाशित

प्रतिक्रिया