×

चौतर्फी घेराबन्दीको बीच एमाले मजबुत शक्ति

images

त्रिशूली (नुवाकोट), २२ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चौतर्फी घेराबन्दीको बीच नेकपा एमाले मजबुत शक्ति बनेको बताउनुभएको छ ।

एमाले नुवाकोटको आठौँ जिल्ला अधिवेशनको लिखु गाँउपालिका-२ ढिकुरेमा आज उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले गत प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा अस्वभाविक गठबन्धन गरेर एमालेलाई सिध्याउन बनाएका योजना असफल भएको बताउनुभएको हो ।

“जनताबाट पाएको साथको उपयोग गरेर आगामी दिनमा जस्तोसुकै कठिन परिस्थितिमा विपक्षीलाई परास्त गर्नसक्ने सङ्गठन बनाउन नेता–कार्यकर्ता लाग्नुपर्छ”, उहाँले भन्नुभयो, “नेतृत्व चयनमा लोकप्रिय व्यक्ति चुन्न, पार्टी सदस्यता दोब्बरले वृद्धि गर्न र जनताको मागअनुसार सेवा पु-याउन केन्द्रित हुनुपर्छ ।”

‘सुखी नेपाली : समृद्ध नेपाल’ एमालेको लक्ष्य भएकाले विकास निर्माणका गतिविधि, उत्पादन र रोजगारीमार्फत त्यसलाई पूरा गर्न एमालेकै नेतृत्वमा सरकार गठन हुनुपर्ने उहाँको भनाइ छ । व्यवस्था परिवर्तनका लागि अधिकारको लडाइँ टुङ्गिएकाले अब भ्रष्टाचार, अनियमितता, बेथिती तथा समाजका कुरीतिविरुद्ध लडनुपर्ने धारणा राख्नुभयो ।  उहाँले रोकिएका विकास निर्माणका काममा नेतृत्व लिएर जनताको सेवामा लाग्न पार्टीका नेता-कार्यकर्तालाई निर्देशन दिनुभयो ।

मङ्गलबारदेखि सुरु भएको एमाले नुवाकोटको आठौँ अधिवेशनअन्तर्गत बुधबारदेखि बन्दसत्रमार्फत नयाँ नेतृत्व चयनहुने वर्तमान जिल्ला अध्यक्ष बद्री मैनालीले जानकारी दिनुभयो । उहाँका अनुसार अधिवेशनले जिल्ला अध्यक्ष, उपाध्यक्ष, सचिव, एकजना महिलासहित दुईजना उपसचिवसमेत गरी एकसय पाँच सदस्यीय नयाँ जिल्ला कमिटी चयन गर्नेछ । 

मङ्गलबार २१ जेठ २०८१ १०:०५ PM मा प्रकाशित

प्रतिक्रिया