काठमाडौं । प्रतिनिधि सभा सदस्य डा.अमरेशकुमार सिंहले सार्वजनिक लेखा समिति सरकारको छाँया बनेको टिप्पणी गरेका छन् । आज (आइतबार) बैठकमा उनले सरकारको काउन्टर पार्ट हुनुपर्ने सार्वजनिक लेखा समिति यसो नभएर भ्रष्टाचारलाई सहजीकरण गरिराखेको बताएका हुन् । उनले भने,
‘लेखा समिति आजको दिनमा सरकारको छायाँ हो । जबकी सरकारको छायाँ हुन हुँदैन, काउन्टर पार्ट हुनुपर्छ,’ उनले भने, ‘भ्रष्टाचारलाई हामी सहजीकरण गरिराखेका छौं । मेरो बुझाइमा, म सदस्यको हैसियतले भन्न चाहन्छु कि– लेखा समितिले भ्रष्टाचारलाई संस्थागत गर्न र त्यसलाई सहजीकरण गर्ने काम गरिरहेको छ ।’
सरकारको जिम्मेवार व्यक्तिलाई बोलाएर उठेका प्रश्नको जवाफ माग्न नसकेको र समितिको निर्देशन सरकारले कुनै पनि कार्यान्वयन नगरेको भन्दै उनले आपत्ति जनाए । राज्य व्यवस्था तथा सुशासन समितिमा प्रधानमन्त्री पटक–पटक गएर उठेका प्रश्नहरुको जवाफ दिइसकेको बताउँदै उनले लेखा समितिले प्रधानमन्त्रीलाई राजाभन्दा पनि ठूलो मानेर नबोलाएको बताए ।
सांसद् सिंहले पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको कुरा कहीँ पनि नलुकेको बताए । उक्त प्रतिवेदन लिक भएको कारण नै जनदवाब सिर्जना भइरहेको उनले बताए ।
प्रतिक्रिया