×

प्रधानमन्त्री प्रचण्ड लाई विश्वासको मत दिन माधव नेपाल सकारात्मक

images

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल प्रधानमन्त्रीलाई विश्वासको मत दिन सकारात्मक देखिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहदरबारमा आज भेटवार्ता भएको थियो ।

भेटमा प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको सरकारलाई विश्वासको मत दिन आग्रह गरेको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले बताए ।

प्रधानमन्त्रीको प्रचण्डको आग्रहपछि अध्यक्ष नेपालले आफूले पार्टीमा छलफल गर्ने जवाफ दिएका थिए । अध्यक्ष नेपालले भने, ‘प्रचण्डजीले विश्वासको मत दिन आग्रह गर्नुभएको छ । मैले यसबारे पार्टीमा छलफल गर्छु भनेको छु । अब पार्टीबाट निर्णय गर्छौं ।’

उनले आजको भेटमा सरकारमा जानेबारे भने कुनै कुरा नभएको सुनाए । प्रचण्ड नेतृत्वको सरकारमा सहभागिताबारे नेकपा एकीकृत समाजवादीले कुनै निर्णय गरेको छैन । शनिबारदेखि चार दिनसम्म बसेको पार्टी स्थायी कमिटी र पोलिटब्युरो बैठकले पनि कुनै ठोस निर्णय गर्न सकेन ।

अहिलेको राजनीतिक अवस्था, सरकारको नीति तथा कार्यक्रम नै स्पष्ट नरहेकाले प्रचण्डको अनुहार हेरेर मात्रै समर्थन गर्न नसकिने उनले बताए । अध्यक्ष नेपालले सवैको राय बिचार लिएर सरकारका बिषयमा संस्थागत निर्णय लिने जिकिर गरे ।

प्रधानमन्त्री दाहालले पुस २६ गते विश्वासको मत लिँदैछन् । एकीकृत समाजवादीभित्र पनि सरकारलाई विश्वासको मत दिएर सहभागी हुनुपर्ने आवाज उठेको छ। प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीलाई सरकारमा ल्याउन पहल गरिरहेका बेला आज भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

बुधबार २० पुस २०७९ ०६:३३ PM मा प्रकाशित

प्रतिक्रिया