काठमाडौँ । अनमोल केसीको फिल्म 'जेरी अन टप' ले घरेलु बक्स अफिसमा शानदार कमाई गरिरहेको छ ।
चलचित्र विकास बोर्डले सार्बजनिक गरेको कार्तिक १५ गते शनिबारसम्मको आधिकारिक ग्रस कमाइमा जेरी अन टपले देशभर १० करोड ५१ लाख ४८ हजार ८०३ रूपैयाँ ग्रस कमाइ गरेको हो । सो अवधिमा यो फिल्मको ३ लाख ३३ हजार ६०५ वटा टिकट बिक्री भएको बोर्डले जानकारी दिएको छ ।
निर्माण पक्षले भने रिलिजको १५ दिनमा फिल्मले विश्वभर १५ करोड कमाई गरेको दाबी गरेको छ । फिल्मलाई दर्शकले रुचाएका कारण अहिले पनि देशभरका कैयौं हलमा अहिले पनि हाउसफुलका साथ चलिरहेको छ ।
सुयोग गुरूङ निर्देशित एड्भेन्चर–लभस्टोरी जनराको 'जेरी अन टप' मा अनमोलसँगै आँचल शर्मा र जसिता गुरूङले मुख्य अभिनय गरेका छन्। साथमा भुवन केसी, केदार घिमिरे, उषा खड्गी, सुरक्षा पन्त लगायतको समेत अभिनय छ ।
त्यस्तै हाल प्रदर्शनमा रहेको फिल्म वरिष्ठ बलरामले २ करोड ४८ लाख ३० हजार ४८८ ग्रस कमाइ गरेको छ । त्यसैगरी फिल्म मैझारोले एक करोड ९५ हजार ३०९ र फिल्म सोल्टिनीले २८ लाख ८० हजार १५६ ग्रस कमाई गरेको बोर्डले जानकारी दिएको छ ।
बोर्डले सार्बजनिक गरेको बक्स अफिस रिपोर्ट कार्तिक १५ गतेसम्म दशैमा रिलिज भएको फिल्म बलिदानले ५ करोड १० लाख ३४ हजार ८०२ ग्रस कमाई गरेको छ भने हरि बहादुरको जुत्ताले ४ करोड ७१ लाख ३७ हजार ६८७ ग्रस कमाई गरेको छ । त्यस्तै फिल्म माइतीघरले ४ करोड १५ लाख ५१ हजार ८८८ कमाई गरेको छ ।
प्रतिक्रिया