×

सय दिन पूरा नगर्दै सरकारमाथि घेराबन्दीको प्रयास, ०८४ को निर्वाचन एक्लै लड्नुपर्छ-अध्यक्ष ओली

images

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो राजनीतिक भूमिकाबारे पार्टी बैठकमा ब्रिफिङ गरेका छन् । ओलीले प्रचण्डको भूमिका सही नभएको टिप्पणी गरेका हुन् । उनले ‘सत्ताबाट हटेपछि प्रचण्डको काम असन्तुष्ट मान्छे उचाल्ने, परिस्थित भड्काउने देखिएको छ भने ।

साथै बैठकमा एमाले र कांग्रेसबीच भएको सात बुँदे सहमति अक्षरशः कार्यान्वयन हुने बताउँदै यसमा कसैले शंका गर्न नहुने बताएका छन् । उनले सय दिन पूरा नहुँदै सरकारलाई घेराबन्दीको प्रयास भइरहेकाले त्यसलाई चिर्न नेताहरूलाई निर्देशन दिए । पार्टी केन्द्रीय कार्यालय च्यासल बालकुमारीमा मंगलबारदेखि सुरु भएको पोलिटब्युरो बैठकमा ओलीले कांग्रेस र एमालेबीच बलियो सम्बन्ध भएको उल्लेख गर्दै यो गठबन्धन २०८४ को निर्वाचनसम्म जाने बताए ।

‘कांग्रेस र एमालेबीच भएको सहमति अक्षरशः कार्यान्वयन हुन्छ । यसमा आशंका गर्नुपर्ने कुनै कारण छैन’ ओलीको भनाइ उल्लेख गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘यो सरकार बनेदेखि सर्वसाधारणमा विश्वास बढेको छ । दुई दलबीच भएको सहमति अनुसार सरकार आफ्नो काममा प्रतिबद्ध छ ।’ उनले कांग्रेस पनि सहमति कार्यान्वयनमा प्रतिबद्ध रहेको बताए ।

ओलीले सरकारबाट बाहिरएपछि प्रमुख प्रतिपक्ष दलका अध्यक्ष पुष्पकमल दाहालले संसदभित्र र बाहिर दिएको अभिव्यक्ति आपत्तिजनक भएको उल्लेख गर्दै त्यसको प्रतिवाद गर्न आवश्यक भएको बताए । उनले एमाले अध्यक्ष एवं प्रधानमन्त्रीमाथि लगाएको आरोप कुण्ठाग्रस्त भएको ओलीको भनाइ थियो ।

‘एमाले मुख्य नेतृत्वप्रति प्रमुख प्रतिपक्ष दलका नेताको अभिव्यक्ति कुण्ठाग्रस्त छ । सरकारबाट बाहिरिन बाध्य भएपछिको यो छट्पटी हो’ ओलीको भनाइ थियो, ‘यो परिस्थितिमा एमाले सचेततापूर्वक अघि बढ्छ ।’

एमालेविरुद्ध राष्ट्रिय र अन्तराष्ट्रिय शक्तिले घेराबन्दी गर्ने प्रयास भइरहेको दाबी गर्दै ओलीले पार्टीले सन्तुलित ढंगले कदम चाल्ने र त्यही अनुसार काम गर्न पोलिटब्युरो सदस्यलाई निर्देशन दिए ।

‘सबै घेराबन्दी तोड्दै एमाले निर्णायक राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित रहेको छ । यसमा सरकार र पार्टीको तर्फबाट पहल गर्न जरुरी छ’ उनले भने, ‘सरकारले सय दिन पुरा नगर्दै घेराबन्दी गर्ने प्रयास भइरहको छ ।’

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले प्रस्तुत कार्ययोजनामामाथि पोलिटब्युरो बुधबारको बैठकमा छलफल गरेर नेताहरूलाई जिम्मेवारीसहित देशैभर परिचालन गर्ने तयारी भएको बताए । प्रस्तावित कार्ययोजनामा सदस्यता विस्तार, प्रारम्भिक तहको वैचारिक कक्षा सञ्चालन र जनसरोकारका विषय पहिचानका बुँदा मुख्य रहेका छन् । 

एमालेले आगामी निर्वाचनमा १० लाख पार्टी सदस्य बनाउने घोषणा गरेको छ । सोही अनुसार पार्टी नेताहरूलाई जनताको घरघरमा पुग्नेगरी संगठन परिचालन गर्ने र उनीहरूका अपेक्षा बुझेर समस्या समाधान गर्ने पहल गर्ने बताउँदै आएको छ । त्यसका लागि पार्टीले देशभर वैचारिक कक्षा सञ्चालन गर्ने जनाएको छ ।

 यसअघि एमाले केन्द्रीय कमिटी बैठकले केन्द्रीय तहका नेताहरूको कार्यविभाजन गरेको थियो । जस अन्तर्गत केन्द्रीय कमिटी सदस्यहरूलाई प्रतिनिधि सभा निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्र, प्रदेश कमिटीका नेताहरूलाई पालिका र पालिकाका नेतालाई वडाको जिम्मेवारी दिने निर्णय गरेको थियो ।

मङ्गलबार १८ भदौ २०८१ ०७:५० PM मा प्रकाशित

प्रतिक्रिया