काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थप भएको छ। प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले समितिको कार्यविधि थपसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए।
उक्त प्रस्तावलाई बैठकले सर्वसम्मत स्वीकृत गरेपछि समितिको म्याद १५ दिन थप भएको हो। प्रस्ताव प्रस्तुत गर्दै थापाले समितिले हालसम्म गरेका कामहरूको बारेमा संक्षेपमा जानकारी गराए। उनले सहकारी बचत अपचलनमा संलग्न ५० जनालाई सोधपुछ गरिएको पनि जानकारी दिए। समितिले सार्वजनिक बिदाको दिनसहित मध्यरातसम्म काम गरेको उनले सदनलाई जानकारी गराए।
समितिका कामबारे सभापति थापाले प्रतिनिधिसभालाई जानकारी पनि दिएका थिए । 'मुलुकमा सहकारी समस्या विकराल राष्ट्रिय समस्या बनिरहँदा समितिले जरैदेखि सहकारीका समस्या पहिचान र समाधानतर्फ कोसिस गर्ने क्रममा सरोकारवाला विभिन्न निकाय, विज्ञ एवं व्यक्तिहरूसँग परामर्श, तथ्य जानकारीका लागि पत्राचार, छलफल र सोधपुछका निर्धारित कार्य सम्पादन गर्दै आएको छ ।
सहकारी नियमनसँग प्रत्यक्ष, अप्रत्यक्ष रूपमा जोडिएका विभिन्न निकायका कर्मचारी एवं सुरक्षाकर्मी समितिको सम्पर्क व्यक्तिको रूपमा जोडिएका छन्,' थापाले भने, 'हालसम्म समितिले विभिन्न सहकारी सस्थाको बचत रकम अपचलनमा जोडिएका भनी आरोपित ५० जना व्यक्तिहरूसँग सोधपुछ कार्य सम्पन्न गरिसकेको सभालाई जानकारी गराउन चाहन्छु ।'
प्रतिक्रिया