×

नेपालको लगातार दोस्रो जित: मलेसिया ६ विकेटले पराजित

images

काठमाडौँ — एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताअन्तर्गत भएको खेलमा नेपालले आयोजक मलेसियालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ।

मलेसियाले दिएको १०४ रनको झिनो लक्ष्य नेपालले २१ ओभर ४ बलमा ४ विकेट गुमाएर सजिलै पूरा गर्‍यो। नेपालको जितमा ओपनर अर्जुन कुमालले अविजित ४५ रनको योगदान दिए। त्यसैगरी इशान पाण्डेले २० रन, दिपेन्द्रसिंह ऐरीले १२ रन र कप्तान रोहितकुमार पौडेलले १० रन बनाए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया ३२ ओभर ३ बलमा १०४ रनमै समेटिएको थियो। मलेसियालाई सस्तैमा समेट्न नेपालका बलर करण केसीले उत्कृष्ट प्रदर्शन गर्दै २३ रन दिएर ४ विकेट लिए। त्यस्तै ललितनारायण राजवंशीले २ विकेट भने सन्दीप लामिछाने, हेमन्त धामी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट हात पारे।

पहिले खेलमा बहराइनलाई ७ विकेटले हराएको नेपाल २ खेलबाट ४ अंक जोड्दै समूह तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। नेपालले अब आफ्नो तेस्रो खेल भदौ २१ गते साउदी अरेबियासँग र अन्तिम खेल भदौ २३ गते हङकङसँग खेल्नेछ।

बिहीबार १८ भदौ २०८३ १२:२१ PM मा प्रकाशित

प्रतिक्रिया