काठमाडौँ । बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्राविरुद्ध ६० करोडको ठगीको मुद्दा दर्ता भएकै समयमा दुवैले आफ्नो प्रसिद्ध रेस्टुरेन्ट 'बास्टियन बान्द्रा' बन्द गर्ने घोषणा गरेका छन् ।
२०१६ मा सुरु भएको यो रेस्टुरेन्ट मुम्बईको रात्रि जीवनको एक महत्त्वपूर्ण हिस्सा मानिन्थ्यो । विशेष गरी समुद्री खानाको लागि प्रसिद्ध, 'बास्टियन' केवल खानाको आश्रयस्थल मात्र थिएन, तर फिल्म स्टारहरू र व्यापार जगतका ठूला व्यक्तित्वहरूको बैठकको केन्द्र बनेको थियो । शिल्पा र रंजित बिन्द्रा बीचको साझेदारीमा सुरु भएको यो रेस्टुरेन्ट समयसँगै मुम्बईको 'हटस्पट' बनेको थियो ।
शिल्पा शेट्टीले इन्स्टाग्राम स्टोरी मार्फत एक युगको अन्त्य जस्तै भएको उल्लेख गर्दै रेस्टुरेन्ट बन्द गरेको घोषणा गरेकी हुन् । उनले 'बास्टियन' ले उनलाई र शहरलाई अनगिन्ती सम्झनाहरू दिएको उल्लेख गर्दै यस अवसरमा पुराना ग्राहकहरूलाई बोलाएर विशेष कार्यक्रम गर्ने बताएकी छन् ।
यद्यपि, शिल्पाले यो ब्रान्ड पूर्ण रूपमा समाप्त नहुने कुरा पनि स्पष्ट पारेकी छन् । उनले यसको नयाँ अध्याय 'बास्टियन एट द टप' नामबाट सुरु हुनेछ । शिल्पा शेट्टी र राज कुन्द्रालाई मुम्बईका एक व्यापारी दीपक कोठारीले ६०.४ करोड ठगी गरेको आरोप लगाएका छन् । उजुरीमा यो रकम २०१५ देखि २०२३ सम्म लगानी र ऋणको रूपमा दिइएको थियो, तर पछि यसलाई व्यक्तिगत खर्चको लागि प्रयोग गरिएको आरोप छ । मुद्दा 'बेस्ट डिल टिभी प्राइभेट लिमिटेड' नामक कम्पनीसँग सम्बन्धित छ, जुन अहिले बन्द रहेको छ । यी आरोपहरूमा, उनीहरुका वकिलले यो पुरानो लेनदेनको विषय भएको उल्लेख गर्दै यसमा कुनै आपराधिकता नरहेको बताएका थिए ।
प्रतिक्रिया