काठमाडौँ, साउन १८ गते। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले संविधान घोषणापछि सरकार बनाउने र ढाल्ने खेलमा मात्रै केन्द्रित हुनु आफूहरूको गम्भीर गल्ती भएको स्वीकार गर्नुभएको छ। सोमबार २४औँ बोत्ले स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो आत्मसमीक्षा गर्नुभएको हो।
सत्ताकेन्द्रित राजनीतिमा फस्दा जनतासँगको सम्बन्ध कमजोर भएको भन्दै उहाँले अब कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो।
"हामीले सरकार बनाउने र गिराउने कुरालाई नै सफलता र असफलताको रूपमा लियौँ, जुन हाम्रो मुख्य गल्ती थियो," प्रचण्डले भन्नुभयो। प्रधानमन्त्री बन्नु र फाल्नु नै अन्तिम उपलब्धि ठान्दा पार्टीको मूल रणनीति नै ओझेलमा परेको उहाँको भनाइ छ। संविधान जारी हुनु अघिसम्म पार्टी सही बाटोमा भए पनि त्यसपछि सरकारको नेतृत्व लिन थालेपछि मजदुर, किसान र उत्पीडित वर्गसँगको जीवन्त सम्बन्ध विस्तारै कमजोर हुँदै गएको उहाँले स्वीकार गर्नुभयो।
दस्ताबेज र संविधानमा 'समाजवाद' लेखिए पनि नेताहरूको आचरण र काम त्यस अनुकूल नभएको उहाँले बताउनुभयो। नेताहरूले काठमाडौँमा विलासी जीवन बिताएको कुरालाई जनताले नजिकबाट नियालिरहेकाले कम्युनिस्टहरूप्रति प्रश्न उठेको उहाँको स्वीकारोक्ति छ। केन्द्रको सत्ता हानाथापको गलत सिको प्रदेश र स्थानीय तहसम्म पुगेको र त्यहाँ पनि पद तथा शक्ति प्राप्तिको होडबाजी मात्र चलेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो।
आफ्ना गल्तीहरूको आत्मसमीक्षा गरे पनि प्रचण्डले शान्ति प्रक्रिया र संविधान निर्माणमा कम्युनिस्ट शक्तिहरूले ऐतिहासिक काम गरेको दाबी गर्नुभयो। विभिन्न शक्ति केन्द्रबाट संविधान बन्न नदिने प्रयास भए पनि राजनीतिक नेतृत्वले त्यसलाई चिरेर अगाडि बढेको उहाँले उल्लेख गर्नुभयो। शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा उल्लेखनीय काम भए पनि रणनीति र आचरण नमिल्दा अहिलेको चुनौतीपूर्ण परिस्थिति सिर्जना भएको उहाँको विश्लेषण छ।
अबका दिनमा वामपन्थी शक्तिहरू एक ठाउँमा उभिएर, ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै साझा सङ्कल्पका साथ अघि बढ्नुको विकल्प नरहेको उहाँले स्पष्ट पार्नुभयो।
यो समाचार इ-सञ्चारपाटी डटकमका लागि तयार पारिएको हो।
प्रतिक्रिया