दैनिक सरदर दुई हजार सेवाग्राही आउने कास्कीस्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र) २१ कर्मचारीका भरमा चलेको छ । सोही कार्यालयको सवारीतर्फ ३४ कर्मचारीको दरबन्दी रहेकामा आधा मात्र कर्मचारी छन् ।
यातायात व्यवस्था कार्यालय कास्कीसहित बागलुङ, तनहुँ र नवपुलरमा पनि जनशक्ति अभाव देखिएको कार्यालयका प्रमुख जीतेन्द्रजङ्ग केसीले जानकारी दिनुभयो । सेवाग्राहीको बढी चाप हुने कार्यालयमा कर्मचारीको अभाव हुँदा सेवा प्रवाहमा समस्या हुने गरेको उहाँको भनाइ थियो ।
अस्थायी कर्मचारीको करार अवधि गत असार मसान्तमा सकिएपछि समस्या निम्तिएको केसीले बताउनुभयो । उहाँका अनुसार करार सेवामा कर्मचारी नियुक्त गर्ने विषयमा प्रदेश सरकारले अहिलेसम्म निर्णय नगर्दा अन्योलता सिर्जना भएको छ ।
“एक त दरबन्दी अनुसार कर्मचारीको पदपूर्ति हुन सकेको छैन, अर्कातर्फ अस्थायी कर्मचारीको पनि करार थप भएको छैन”, प्रमुख केसीले भन्नुभयो, “यही अवस्था रहिरहे सेवा प्रवाहमा समस्या आउन सक्छ ।” पटक–पटक माग गर्दा पनि प्रदेश सरकारले कर्मचारीको प्रबन्ध गर्न नसकेको उहाँले गुनासो गर्नुभयो ।
थप पाँच÷छ जना खरिदार तथा सुब्बासरहका कर्मचारी र केही कार्यालय सहयोगी भए सेवा प्रवाहमा सहजता थपिने प्रमुख केसीले उल्लेख गर्नुभयो । “हामीले धेरै माग गरेका छैनौँ, पाँच÷छ कर्मचारी सरुवा गरेर पठाइदिनुस् भनेका छौँ, तर अहिलेसम्म कुनै सुनुवाइ भएको छैन”, उहाँले भन्नुभयो ।
सवारीतर्फका कार्यालय प्रमुख डिल्ली रिजालले कर्मचारी अभावका कारण कार्यसम्पादन प्रभावकारी हुन नसकेको बताउनुभयो । “यातायात कार्यालय सेवाग्राहीको चाप हुने ठाउँ हो, प्रदेश सरकारले यसतर्फ विशेष ध्यान दिएर कर्मचारीको उचित व्यवस्थापन गर्नुपर्छ”, उहाँले भन्नुभयो, “अस्थायी÷करारमा कर्मचारी नियुक्त गर्ने विषयमा छिटो निर्णय गरेमा सहज हुने थियो ।”
प्रमुख रिजालका अनुसार यहाँ दैनिक सातदेखि आठ सय सेवाग्राही दैनिक आउने गरेका छन् ।
प्रतिक्रिया