×

माओवादी केन्द्रको स्थायी कमिटी सोमबार सकिने, आजको बैठकमा के के भयो ?

images

काठमाडौं । नेकपा माओवादी केन्द्रको आजको स्थायी कमिटीको बैठक सकिएको छन् ।

शुक्रबारदेखि जारी रहेको स्थायी कमिटी बैठकमा अब उपाध्यक्ष र महासचिवले बोल्न बाँकी रहेको र बैठक सोमबार सकिने उपमहासचिव बर्षामान पुनले जानकारी दिए । आजको बैठकमा उपमहासचिव जनार्दन शर्माले स्पष्ट कुरा राखेको बताउदै सबैले आ-आफ्नो जिम्मेवारी लिनुपर्ने बताएको पुनले बताए ।

आजको बैठकमा १९ जनाले आफ्नो धारणा राखेको उपाध्यक्ष एवम प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । आजको बैठकमा बोल्ने धेरै जसो सदस्यले प्रचण्डको नेतृत्व आवश्यक रहेको धारणा राखेको सापकोटाले बताए ।   

आजको बैठकमा बोलेका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीयताको स्वामित्व लिन नसकेको र पहिचानको मुद्दा छोडेको आरोप लगाएका थिए । उनले प्रचण्डका कारण संघीयताको स्वामित्व लिन नसकेको र पहिचानको मुद्दा छोडेको तथा वैचारिक लाइन, राजनीतिक अस्पष्टता, संगठनात्मक अराजकताका कारण पार्टीलाई ठुलो नोक्सान भएको बताएका थिए ।

यसैबीच अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ति गर्नेले आत्मालोचना गर्नुपर्ने बताएका छन् । माओवादी केन्द्रको आजको स्थायी कमिटीको बैठक सकेर बाहिरिने क्रममा प्रचण्डले छोटो प्रतिक्रिया दिदै पार्टीमा जसले गल्ति गर्यो त्यसले आत्मालोचना गर्नुपर्ने बताएका हुन् । पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै उनले भने- 'अहिले छलफल चलिरहेको छ । जसले गल्ति गर्यो त्यसले आत्मालोचना गर्ने कुरा हो ।'

आइतबार​ १९ साउन २०८२ ०७:०० PM मा प्रकाशित

प्रतिक्रिया