काठमाडौं । फिफा विश्वकप अन्तर्गत अन्तिम ३२ को रोमाञ्चक खेलमा क्रोएसियालाई २-१ ले पराजित गर्दै पोर्चुगल प्रिक्वार्टरफाइनल ९ अन्तिम १६० मा प्रवेश गरेको छ । टोरन्टो स्टेडियममा शुक्रवार बिहान सम्पन्न खेलको इन्जुरी समयमा गोन्कालो रामोसले गोल गरेपछि पोर्चुगलले नाटकीय जित दर्ता गरेको हो ।
खेलको सुरुवातदेखि नै बलमाथि नियन्त्रण बनाए पनि पोर्चुगलले सुरुवाती अग्रता भने गुमाएको थियो । ५३ औँ मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई १-० को अग्रता दिलाएका थिए ।
एक गोलले पछि परेको स्थितिमा पोर्चुगलले लगातार आक्रमण बुन्यो। खेलको ६८औँ मिनेटमा प्राप्त पेनाल्टीलाई कप्तान क्रिस्टियानो रोनाल्डोले गोलमा परिणत गर्दै खेल १-१ को बराबरीमा ल्याए ।
खेलमा मुख्य मोड़ तब आयो जब प्रशिक्षक रोबर्टो मार्टिनेजले ८१ औँ मिनेटमा कप्तान रोनाल्डोलाई मैदानबाट बाहिर बोलाए। रोनाल्डो निराश हुँदै बेन्चमा फर्किए पनि उनको स्थानमा आएका खेलाडीहरूको प्रभाव मैदानमा देखियो । १० मिनेटको इन्जुरी समय थपिएकोमा ९४ औँ मिनेटमा राफेल लियोको उत्कृष्ट क्रसमा गोन्कालो रामोसले सानदार हेडरमार्फत गोल गर्दै पोर्चुगललाई जित दिलाए ।
अन्तिम समयमा गोल खाएपछि क्रोएसियाली खेलाडी र समर्थकहरू स्तब्ध बनेका थिए। रोनाल्डो मैदान बाहिर भए पनि रामोसको गोलपछि उनी मैदानभित्रै पुगेर साथीहरूसँग खुसी साटेका थिए । यो जितसँगै पोर्चुगलले अब प्रिक्वार्टरफाइनलमा बलियो प्रतिद्वन्द्वी स्पेनको सामना गर्ने पक्का भएको छ ।
प्रतिक्रिया