काठमाडौं । गण्डकी प्रदेश सरकारका मन्त्री दीपक मनाङे (राजीव गरुङ) ले मन्त्री पदबाट राजीनामा दिएका छन् । मन्त्री मनाङेका स्वकीय सचिव सन्तोष अधिकारीले आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई राजीनामा बुझाएको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिए ।
मनाङेलाई राजीनामा पत्र बुझाए पनि स्वीकृत भने भइनसकेको प्रेस संयोजक सापकोटाले बताए । भौतिक पूर्वाधारमन्त्री रहेका मनाङेलाई वन मन्त्रालयको जिम्मेवारी दिएसँगै असन्तुष्ट व्यक्त गरेका थिए । मुख्यमन्त्रीको कार्यालयका एक अधिकारीले मन्त्री मनाङेको राजीनामा स्वीकृत भइसकेको बताएका छन् ।
मन्त्री मनाङेले भने प्रदेशलाई वन तथा वातावरणमा पर्याप्त अधिकार नै नभएकाले आफू सो मन्त्रालयको जिम्मेवारीमा नरहने बताएका छन् । 'मैले मुख्यमन्त्रीलाई राजीनामा पठाइसकेँ । म काम गर्न खोज्ने मान्छे हो । प्रदेशको वन मन्त्रालयमा गएर मैले के गर्ने ?,' मनाङेले प्रश्न गर्दै भने, 'प्रदेशलाई वनमा कुनै अधिकार नै छैन । खासमा प्रदेशलाई वन मन्त्रालय आवश्यक नै छैन । सबै अधिकार संघमा भएपछि यहाँ वनमारा र तितेपाती मात्रै हेर्नलाई मन्त्री किन चाहियो ? त्यो त रेन्जरले हेरे भइहाल्छ ।'
उनले आफू गाडी र डेरा पाउनकै लागि मात्रै मन्त्री नभएको दाबी गरे । 'मेरो घर छ । गाडी छ । मलाई मन्त्रीको गाडी चढ्न रहर लागेर मन्त्री भएको होइन,' उनले भने, 'विगतमा अफ्ठ्यारो परिस्थितिमा साथ दिँदा उहाँहरूले मलाई मन्त्री बनाउनुभयो । अहिले म मन्त्री नभएपनि केही अफ्ठयारो छैन । बरू यही ठाउँ कोही युवालाई दिए हुन्छ ।'
मनाङेले वन तथा वातावरण मन्त्रालय मनाङबाट निर्वाचित प्रदेश सांसद मुनिन्द्रजंग गुरूङलाई दिन पनि माग गरेको बताए। ‘तल्लो मनाङको भाइ मुनिन्द्रजंग गुरुङलाई मन्त्री देउ भनेको छु,’ उनले भने, ‘नयाँ केटाहरुलाई अनुभव हुन्छ।’
प्रतिक्रिया