×

अर्थमन्त्री पौडेल र विश्‍व बैंकका उपाध्यक्ष जुटबीच भेटवार्ता

images

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्‍व बैंकका दक्षिण एशिया क्षेत्र हेर्ने उपाध्यक्ष  जोहानेस जुटबीच भेटवार्ता भेटघाट भएको छ । 

अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्र, शहरी भौतिक पूर्वाधार, लगानी, पर्यटन, वातावरण  लगायतका विषयमा छलफल भएको छ । अर्थमन्त्री पौडेलले गत वर्षको तुलनामा अर्थतन्त्रका सुचकहरुमा उल्लेखनीय सुधार आएको जानकारी दिँदै नेपालले नीतिगत, संरचनागत, निर्णय र कार्यान्वयन प्रकृयामा सुधार गरेको बताए । 

उनले विश्व बैंकले आगामी ६ वर्षका लागि तयार पारेको कन्ट्री पार्टनरसीप फ्रेमवर्क नेपालमा विकासको आवश्यकता र सरकारको प्राथमिकतासँग तादम्य रहेको उल्लेख गर्दै फ्रेमवर्क अनुसारका आयोजना तथा कार्यक्रम तर्जुमा गर्न सरकार विश्व बैंकसँग मिलेर काम गर्न चाहेको बताए ।  

अर्थमन्त्री पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधिसभाबाट पारित भइ राष्ट्रिय सभामा छलफलमा रहेको जानकारी गराउँदै विधेयक पारित भएसँगै निजी क्षेत्रसँग मिलेर प्रतिफल दिने आयोजनाहरुमा लगानी गर्ने बताए । उनले विधेयकको  लक्ष्य अनुसार अघि बढ्न विश्व  बैंकबाट सहयोगको अपेक्षा गरे । 

विश्‍व बैंकका दक्षिण एशिया क्षेत्र हेर्ने उपाध्यक्ष जुटले नेपालमा उच्च आर्थिक वृद्धिदर हुने गरी विश्व बैंकले सहयोग गर्ने बताए । उनले विश्व बैंकले लुम्बिनी, काठमाडौं उपत्यकाको शहरी पूर्वधार, वातावरणीय प्रदुषण न्यूनीकरण र आर्थिक वृद्धिका लागि सहयोग गर्ने भन्दै निजी क्षेत्रलाई पनि साथमा लिएर अघि बढ्नु पर्ने धारणा व्यक्त गरे । 

उपाध्यक्ष जुटले नेपालको अर्थतन्त्रका परिसूचकहरु  सुधार हुनु सकारात्मक भएको उल्लेख गर्दै नेपालका लागि लगानी अझ बढाउन जरुरी भएको बताए  । उनले वैकल्पिक विकास वित्त परिचानन सम्बन्धी कानून बनेसँगै पूर्वाधार क्षेत्रमा लगानीका लागि थप नयाँ क्षेत्रहरु पहिचान हुन सक्ने विश्वास व्यक्त गर्दै निजी क्षेत्रको लगानी आकर्षित गर्न र आर्थिक वृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सहयोग पुर्याउने बताए । उनले लगानी र उत्पादकत्व वृद्धिमा केन्द्रित हुन पनि सुझाव दिएका थिए ।

मङ्गलबार १७ भदौ २०८२ ०१:१५ PM मा प्रकाशित

प्रतिक्रिया