×

अस्करमा नेपाली चलचित्र

images

काठमाडौं ।  ९५ औं संस्करणको ‘एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड)’ मा सहभागिताका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले आवेदन खुल्ला गरेको छ । समितिले बिहीबार विज्ञप्ति जारी गर्दै अस्करमा प्रतिस्पर्धा गर्न इच्छुक नेपाली फिल्मकर्मीले भदौ १६ गतेदेखि भदौ ३० गतेभित्र नेपालको अस्कर कमिटीलाई फिल्म बुझाउन आग्रह गरेको छ ।

द एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेसले सन् २०२३ मार्च १२ तारिख आइतबार अमेरिकाको लस् एन्जेलसको डल्बी थिएटरमा ९५ औं एकेडेमी अवार्डस् (द अस्कर अवार्ड) प्रदान गरिने जनाएको छ । हरेक वर्ष फ्रेब्रुअरीमा हुँदै आएको ‘अस्कर अवार्ड’ कोरोना महामारीका कारण गत वर्ष दुई महिना पछाडि धकेलिएको थियो । यो वर्ष भने एक महिना मात्र पर सरेको छ अर्थात फे्रबुअरीमा हुँदै आएको अवार्ड मार्चमा हुनेछ ।

अघिल्लो वर्षहरुमा झैँ यो वर्ष पनि चलचित्र हलसँगै स्ट्रिमिङ साइटमा रिलिज भएका चलचित्रले अवार्डमा सहभागिता जनाउन सक्नेछन् । यो सँगै महामारीका कारण रिलिज गर्ने समय तोकेर पनि रिलिज हुन नसकेका चलचित्रले पनि अस्करमा सहभागिता जनाउन पाउनेछन् । 

यसका लागि सम्बन्धित चलचित्रले सरकारबाट मान्यता प्राप्त सिनेमा हलबाट चलचित्र रिलिज रोकिएको पत्र बुझाउनुपर्नेछ । त्योसँगै यसरी रोकिएका फिल्महरू सिनेमा हलमा नलागी स्थापित स्ट्रिमिङ साइट वा भिडियो अन डिमान्डमा आएका छन् भने तिनले पनि सहभागिता जनाउन सक्ने भएका छन् ।

नेपालमा विमल पौडेलको अध्यक्षतामा आठ सदस्यीय इन्टरनेसनल फिचर फिल्म कार्यकारी समिति रहेको छ । जसमा राजेन्द्र शलभ, लक्ष्मीनाथ शर्मा, प्रदीप उपाध्याय, लोकेन्द्र पराजुली, राजुबिक्रम थापा, चिरञ्जीवी गुरागाई र सामीप्यराज तिमल्सेना सदस्य रहेका छन् । समितिले अक्टोबर ३ भित्रमा नेपालको प्रतिनिधित्व गर्ने एउटा नेपाली चलचित्र छनौट गरेर पठाउनेछ । 

शुक्रबार​ १७ भदौ २०७९ ०८:०३ AM मा प्रकाशित

प्रतिक्रिया