×

हृदयेन्द्रको भ्लग बारे माओवादी र राप्रपा आमने सामने

images

काठमाडौँ । हृदयेन्द्र शाहको ‘जुम्ला भ्लग’ बारे अहिले चर्चामा रहेको छ । हृदयेन्द्र शाहको ‘जुम्ला भ्लग’ लाई लिएर अनेक टिप्पणी भइरहेका बेला माओवादी केन्द्र र राप्रपा आमने सामने भएका छन् ।

हृदयेन्द्रको भ्लगको विषयमा राजनीतिक टिप्पणी समेत शुरु भएको छ । नेकपा माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामु लामाले दिएको अभिव्यक्ति पनि अहिले चर्चामा छ । जुम्लाबाट प्रतिनिधिसभा सांसद लामाले यसलाई ‘राजतन्त्रको अपवित्र षड्यन्त्र’ को संज्ञा दिएकी छन् । लामाले फेसबुकमार्फत हृदयन्द्रको भ्लगलाई राजतन्त्रको झल्को दिने र गणतन्त्रको उपलब्धिलाई कमजोर पार्ने प्रयास भएको आरोप समेत लगाएकी थिइन् । उनले राजतन्त्र कालमा जुम्लामाथि भएको शोषण र क्रूरताको इतिहास स्मरण गर्दै गणतन्त्रले १५ वर्षमै बाटो, इन्टरनेट र स्वास्थ्य सेवा पुर्‍याएको दाबी गरेकी छन् ।

सांसद लामाको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले उनको टिप्पणी असभ्य, अमर्यादित र पाखण्डपूर्ण भनेका छन् । उनले भनेका छन्-  नवयुवराज हृदयेन्द्र वीर विक्रम शाहको ‘जुम्ला भ्लग’बारे माओवादी सांसद छिरिङ ल्हामु लामाको टिप्पणी असभ्य, अमर्यादित र पाखण्डपूर्ण छ। जुम्लाको सभ्यता, सौन्दर्य र पहिचानलाई विश्वमाझ चिनाउने बहुचर्चित ‘भ्लग’लाई लिएर जुम्लाकै सांसद लामाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको धारणा नागरिकको स्वतन्त्रता र अथितिको मर्यादा विपरीत छ । नेकपा माओवादी केन्द्रलाई प्रश्न : नवयुवराज हृदयेन्द्रका बारे तपाईको पार्टीबाट जुम्लाकी समानुपातिक सांसद लामाको सार्वजनिक अभिव्यक्तिमा पार्टीको धारणा प्रतिबिम्बित छ ? छैन भने तिनले सार्वजनिक माफी मागुन् !

शनिबार १८ साउन २०८२ ०७:२० PM मा प्रकाशित

प्रतिक्रिया