काठमाडाैं। देशव्यापी रुपमा सार्वजनिक यातायात बन्द गरेर आन्दोलनमा उत्रिएका यातायात व्यवसायीसँग सरकारले वार्ता सुरु गरेको छ।
गृहमन्त्री रमेश लेखकको पहलमा अहिले सरकार र आन्दोलनरत यातायात व्यवसायीबीच गृह मन्त्रालयमा वार्ता र छलफल सुरु भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको छ।
समितिले आजदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिन व्यवसायी र यातायात मजदुरलाई आह्वान गरेको छ। व्यवसायीले गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गर्दै सोमबारबाट यातायात नचलाउने घोषणा गरेका छन् ।
सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणाले जनजीवन प्रभावित बनेको छ । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’ले आइतबार सूचना जारी गर्दै सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने घोषणा गरेको थियो ।
प्रतिक्रिया