काठमाडौं । युक्रेनले रूसमाथि हालसम्मकै सबैभन्दा ठूलो लामो दूरीको आक्रमण सफलतापूर्वक सम्पन्न गरेको दाबी गरेको छ । स्पाइडर वेब नाम दिइएको सो अपरेशन अन्तर्गत युक्रेनी सुरक्षा सेवाले १ सय १७ वटा ड्रोन प्रयोग गरी चार रूसी सैन्य हवाई आधार शिविरहरूमा रहेका ४० युद्धक विमानहरूलाई लक्ष्य बनाएको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कारबाहीमा रूसका ३४ प्रतिशत रणनीतिक क्रूज मिसाइल वाहकहरूमा क्षति पुर्याइएको बताए। युक्रेनी सुरक्षा सेवाले बिबिसीलाई दिएको जानकारी अनुसार युक्रेनलाई यस आक्रमणको तयारीका लागि डेढ वर्ष लागेको थियो । रूसी अधिकारीहरूले युक्रेनी आक्रमण भएको स्वीकार गर्दै पाँच क्षेत्रहरूमा आक्रमण भएको बताएका छन् । रुसले युक्रेनी आक्रमणलाई आतंकवादी गतिविधिको संज्ञा दिएको छ ।
रूसी पक्षले आक्रमणले पुर्याएको क्षतिको विस्तृत विवरण भने दिएको छैन । यसको जवाफमा, रूसले पनि युक्रेनमाथि ठूलो मात्रामा ड्रोन र मिसाइल हमला गरेको युक्रेनी अधिकारीहरूले जनाएका छन् । यसैबीच टर्कीको इस्तानबुलमा आजका लागि तय भएको रुस र युक्रेनबीचको दोस्रो चरणको शान्तिवार्ताका लागि दुबै पक्षका अधिकारीहरु त्यसतर्फ लागेका छन् ।
प्रतिक्रिया