काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि सहभागी हुने भएको छ । रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डसमक्ष राखेको प्रस्तावमा सहमत भएपछि पुरानै मन्त्रालय लिएर रास्वपा सरकारमा सहभागी हुने भएको छ ।
सोमबार काठमाडौंमा बसेको रास्वपा केन्द्रीय समिति बैठकमा पार्टी सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्ड आफूहरूले राखेको मागमा सहमत भएको ब्रिफ्रिङ गरेका छन् । सत्तारूढ दलबीच थप सहमति एवं छलफलका लागि प्रधानमन्त्री प्रचण्डले समय माग गरेकाले सरकारमा सहभागी हुने कि नहुने भन्नेबारे निर्णय आउँदो शुक्रबारको बैठकमा गर्ने रास्वपाले जनाएको छ ।
रास्वपा महामन्त्री तथा प्रवक्ता डा। मुकुल ढकालले पार्टी सभापति लामिछानेले राखेका माग सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड तयार रहेको जानकारी दिए । केन्द्रीय समितिको बैठकपछि प्रवक्ता ढकालले सत्तारूढ दलबीच समेत थप छलफल गर्नुपर्ने भएकाले सरकारमा सहभागी हुनेबारे शुक्रबारको बैठकबाट निर्णय गरिने बताए ।
‘हामी अहिलेको जस्तो समर्थन पनि गर्ने र सरकारबाहिर पनि बस्ने कुरा रहँदैन,’ प्रवक्ता ढकालले भने, ‘सरकारलाई दिएको समर्थन कायमै राख्नुपरेमा सरकारमै सहभागी हुने तर सरकारमा सहभागी हुने अवस्था नआए समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्छौं ।’
यसअघि पाएको मन्त्रालय पाउनुपर्ने, सरकारको न्यूनतम साझा कार्यक्रम पुनर्लेखन हुनुपर्ने सर्तसहित रास्वपा सरकारमा सहभागी हुने उनले बताए । ‘प्रधानमन्त्रीले हाम्रो पार्टी सभापतिलाई पुरानो मन्त्रालय दिन र नीति तथा कार्यक्रम पुनर्लेखनका लागि मञ्जुर छु भन्ने कुरा गरिसकेको हुनाले अहिले पार्टीले जाने या नजाने निर्णय गर्न मात्रै बाँकी हो,’ प्रवक्ता ढकालले भने ।
सोमबार चितनव पुगेका प्रधानमन्त्री प्रचण्डले रास्वपासँग सरकारमा सहभागी हुनेबारे छलफल जारी रहेको बताउँदै रास्वपा पनि सरकारमा सहभागी हुने बताएका छन् । राजधानी दैनिकबाट
प्रतिक्रिया