काठमाडौँ । भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अर्की नेपाली विद्यार्थी प्रिसा साह मृत फेला परेपछि परराष्ट्र मन्त्रालयले छानबिनका लागि कूटनीतिक पहल थालेको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा साह मृत भेटिएको घटनाले मर्माहत भएको बताएकी छन् ।
साथै उनले परराष्ट्र मन्त्रालयले भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको जनाएकी छन् । परराष्ट्रमन्त्री राणाले यो घटनाले निकै मर्माहित बनाएको भन्दै सामाजिक सन्जालमा लेखेकी छन्, ‘प्रिशाको आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद घडीमा उनको परिवाजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’
उनी थप लेख्छिन्, ‘परराष्ट्र मन्त्रालयले घटना लगत्तै हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको छ ।’ उक्त विश्वविद्यालयको स्नातक तह प्रथम वर्षमा अध्ययनरत नेपाली छात्रा वीरगन्जकी प्रिसा साह बिहीबार साँझ फेला परेकी हुन् । उनको शव कलेज होस्टेलमा फेला परेको थियो ।
गत ४ फागुनमा सोही विश्वविद्यालयमा अध्ययनरत २० वर्षीय नेपाली विद्यार्थी प्रकृति लम्साल पनि होस्टलमा मृत फेला परेकी थिइन् । प्रिशाको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ । परिवारका सदस्यहरु त्यहाँ पुगेपछि पोष्टमार्टम गर्ने तयारी छ ।
प्रिशाका परिवारका सदस्यहरु भारत प्रस्थान गरिसकेका छन् । घटनापछि उडिसा सरकारले पनि विज्ञप्ती जारी गरी घटनाको छानबिन सुरू भएको जानकारी दिएको छ। घटनालगत्तै मृतकको परिवारलाई जानकारी गराइएको छानबिनका लागि प्रहरी खटाइएको विज्ञप्तीमा उल्लेख गरिएको छ।
अखिल भारतीय विद्या परिषद (एबिभिपी)ले केआईआईटीमा फेरि नेपाली विद्यार्थी मृत भेटिएको घटना दुःखद भनेको छ।
प्रतिक्रिया