×

रास्वपा सभापति लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा पेशीमा चढ्यो

images

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा सर्वोच्च अदालतको पेशीमा चढेको छ । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटको पेशी सोमबारलाई तोकिएको हो ।

अधिवक्ता युवराज सफलले लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धमा रिट दायर गरेका हुन् । अधिवक्ता सफलले लामिछानेविरुद्ध मुद्दा नचलाउने तत्कालीन महान्यायाधिवक्ता दीनमणि पोखरेलको निर्णय कानूनविपरीत रहेको भन्दै २०७९ चैत २० गते रिट दायर गरेका थिए । लामिछानेविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय कानूनविपरीत रहेको भन्दै उनले रिट दायर गरेका थिए ।

यसअघि यो मुद्दामा सर्वोच्चले तीन पटक फाइल मगाउने निर्णय गरेको छ । २०७९ चैत २२ गते कारण देखाऊ आदेश जारी गरेको सर्वोच्चले २०८० जेठ ९ गते फाइल मगाउने आदेश गरेको थियो । अदालतले राहदानीसम्बन्धी विवादमा महान्यायाधिवक्ता कार्यालयसँग रवि लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गर्नुको कारण माग गरेको र उक्त निर्णय प्राप्त भएपछि दोहोरो सुनुवाइ हुन लागेको हो ।

तत्कालीन महान्यायाधिवक्ता  पोखरेलले २०७९ चैत ६ गते  लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने  निर्णय गरेका थिए । सफलले महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका थिए । उनले रिटमा राहदानी विवादमा रवि लामिछानेविरुद्ध मुद्दा चलाउन अन्तरिम आदेश पनि माग गरेका थिए । तर सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

सोमबार २० माघ २०८२ १२:४३ PM मा प्रकाशित

प्रतिक्रिया