काठमाडौँ। कीर्तिपुर नगरपालिकाका २० स्थानमा नगरप्रमुख र दुई वडाध्यक्षका लागि उत्साहपूर्वक मतदान जारी छ । मतदान अधिकृत इन्दिरा कार्कीका अनुसार नगरप्रमुख र वडा नं १ र ४ का वडाध्यक्षका लागि जारी मतदानमा नगरप्रमुखमा दलीय र स्वतन्त्र गरी २० उम्मेदवार तथा वडा नं १ मा नौ र वडा नं ४ मा १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
नगरप्रमुख राजकुमार नकर्मी, वडा १ का अध्यक्ष हीरालाल महर्जन र वडा नंं ४ का अध्यक्ष श्यामराज अधिकारीको निधनपछि ती पद रिक्त भएका हुन् । साथै कांग्रेस कीर्तिपुर नगरपालिकाको मेयरका उम्मेदवार कृष्णमान डंगोलले ३ वडाबाट मतदान गरेका छन् । यहाँ २० स्थानमा नगरप्रमुख र दुई वडाध्यक्षका लागि उत्साहपूर्वक मतदान जारी छ ।
उपनिर्वाचन भएका ठाउँमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भइरहेको छ । निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालका अनुसार यो निर्वाचनमा कुल दुई लाख २६ हजार सात सय ९९ जना मतदाता छन् । यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । आयोगले सक्कल मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र र वा सवारी चालक अनुमतिपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको जनाएको छ ।
प्रतिक्रिया