×

उपप्रधानमन्त्री सिंह भन्छन विधिको शासनका लागि ज्यान दिने र दुःख गर्नेहरूलाई नै प्रश्न गर्नु दु:खद

images

काठमाडौं।  उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले आन्दोलन र संघर्षका दशकौंदेखि संघर्ष गरेकाहरुमाथि दुष्प्रयास भएको भन्दै आक्रोश पोखेका छन् । आज काठमाडौंको घट्टेकुलोमा आयोजित शुभकामना कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विधिको शासनका लागि ज्यान दिने र दुःख गर्नेहरूलाई नै प्रश्न गर्ने गरिएको भन्दै असन्तुष्टि पोखे ।

सम्बोधनको क्रममा उनले भने,‘हाम्रो देशमा पछिल्लो समय विधिको शासनका लागि संघर्ष गरेकाहरूलाई तिरस्कार गर्ने प्रवृत्ति देखा पर्यो, यसले देशलाई कहाँ पुर्‍याउँछ ? त्यसले राष्ट्रियता कहाँ पुग्छ ? हामीले यसबारे ख्याल गर्नुपर्छ, फेसबुकमा कसैले लेख्दियो त्यसैको पछि कुद्ने ? लेख्ने र हेर्ने अधिकार सबैलाई छ । तर, सही गलत छुट्याउने जिम्मेवारी त तपाईँ हाम्रो हो नि ।’

उनले आफूले इमानदार राजनीति गरेकै कारण र कुनै गल्ती नगरेकोले काठमाडौँबाट निरन्तर चुनाव जित्दै आएको पनि स्मरण गराए । आफू राजनीतिमा लाग्दा दलहरू प्रतिबन्धित अवस्थामा रहेको स्मरण गर्दै जनतालाई अधिकार सम्पन्न बनाउनका लागि राजनीतिमा होमिएको उनको भनाई थियो । 


‘शाही आयोगले समाउँदा विधिको  शासन हुनुपर्छ । संविधानमै नभएको कुरा राजाले ल्याउँदैमा हुन्छ ? अवैधानिक छ भनेर मैले भन्दा जेलमा लगेको हो तर, पछि सर्वोच्च अदालतले मेरो  गिरफ्तारी अवैधानिक हो नभन्दासम्म त जेलमा राखेकै हो‚’ सिंहले थपे‚ ‘हामी पुर्खाको सम्पत्ति बेचेर राजनीतिमा टिक्नुपर्ने । अनि चप्पल लगाएर आएको भन्छन् ।  कसको ब्यागग्राउन्ड के हो बुझ्नुपर्‍यो नि ।’

शुक्रबार​ १६ कात्तिक २०८१ ०९:३१ PM मा प्रकाशित

प्रतिक्रिया