×

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वतयारीमा कर्णाली

images

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वतयारीमा कर्णाली जुटेको छ । विसं २०८१ मङ्सिर २–९ गतेसम्म कर्णाली प्रदेशमा हुने उक्त प्रतियोगिता आयोजना हुने समय नजिकीदै छ ।

खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा निर्माणाधीन रङ्गशालाको काम तीव्ररुपमा अगाडि बढिरहेको छ । यद्यपि प्रदेशका अन्य जिल्लामा भने खेलकुद पूर्वाधारको अभाव छ । खेलकुद प्रतियोगिताको पूर्वतयारी गर्न बजेट पनि धेरै नभएको बताइएको छ । 

डेढ वर्षपछि दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएपछि यहाँको पूर्वाधार संरचना र तयारी अवस्था बुझ्न कोशी र बागमती प्रदेशका खेलकुद परिषद् सदस्यसचिवहरु कर्णाली पुगेका छन् । उहाँहरुले यहाँको निर्माणाधीन रङ्गशालाको भौतिक संरचनाको अवलोकन गर्नुभयो ।  

प्रतियोगिताको समय नजिकिँदै गरेकाले सङ्घीय सरकार र राष्ट्रिय खेलकुद परिषद्ले बेलैमा ध्यान दिनुपर्नेमा कोशी प्रदेशका खेलकुद परिषद् सदस्य हंसराज वाग्लेले जोड दिनुभयो । “कर्णालीमा दशौँ खेलकुद प्रतियोगिता हुने भएपछि सबैको ध्यान यता खिचिएको छ,” उहाँले भन्नुभयो, “निर्माणाधीन रङ्गशालामा ३३ खेलहरुमा २१÷२२ सम्म खेलाउन सम्भव हुन्छ । बाँकी खेलहरु अन्य जिल्लामा खेलाउने गरी तयारी थाल्नुपर्दछ ।” 

बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले प्रदेश रङ्गशालाको प्रगति उत्साहजनक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “रङ्गशालाको अवलोकन गरियो । निर्माण कार्यको प्रगति प्रशंसा गर्नलायक छ । काम अझै युद्धस्तरमा बढ्नुपर्दछ । प्रदेश सरकार आफैँले ८५ करोड बजेट छुट्याए पनि पूर्वाधारमा केही समस्या हुने देखिन्छ ।”

कर्णाली खेलकुद परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्यालले दशवटै जिल्लाको भौतिक संरचनाको विषयमा छलफल गर्दै आएको जनाउनुभयो । “बसाइ वातावरणको सहज व्यवस्थापन हुने ठाउँमा खेल खेलाउने भन्ने गरी सोचिएको छ”, उहाँले भन्नुभयो,  “संरचना निर्माण रातारात भए पनि बनाउनुपर्छ भन्नेतर्फ गम्भीर भएर लागेका छौँ ।”

    सङ्घीय सरकारसँग पनि धेरै पटक बजेटको माग गर्दा पनि सहयोग नगरेको दुःखेसो पोख्दै उहाँले सदस्यसचिव सञ्ज्यालले रङ्गशालाको ६० प्रतिशत भौतिक प्रगति भएको र अन्य जिल्लाहरुमा संरचनाको अभाव रहेको बताउनुभयो । यद्यपि अन्तर्राष्ट्रियस्तरमा जाने खेलहरुलाई प्राथमिकता दिइने भन्दै व्यवस्थापनको पाटोमा धेरै ध्यान दिनुपर्ने अवस्था आएको उहाँको भनाइ थियो । 
 

मङ्गलबार १६ साउन २०८० ०६:३० AM मा प्रकाशित

प्रतिक्रिया