×

धापाखेलको नागपोखरीमा मूर्ति राखिने

images

ललितपुर महानगरपालिका–२४ स्थित धापाखेल नागपोखरीमा पितलको नागको मूर्ति लगेर राखिने भएको छ । हरेक वर्ष श्रावण शुक्लपक्ष पञ्चमी तिथिका दिन मङ्गलबार मनाइने नागपञ्चमी पर्वमा नागपूजा गर्नका लागि आज राति सो मूर्ति लगिने भएको हो । 

बेलुका ७ बजेपछि सो मूर्तिलाई धुप बालेर बाजागाजासहित बोकेर यहाँको नागपोखरीमा राखिने भएको धापाखेल नागदह संरक्षण समितिका अध्यक्ष सलामसिंह मोक्ताङले बताउनुभयो । उहाँले भन्नुभयो, “यस मूर्ति हराउने डरका कारण अन्य दिन भने पुजारीको घरमा राख्ने गर्छौँ तर मात्र नागपञ्चमीको अघिल्लो दिन पोखरीमा ल्याइन्छ ।” सो मूर्ति पोखरीमा राखेसँगै नागपञ्चमी मेलाको उत्साह धापाखेलमा बढ्ने मोक्ताङले जानकारी गराउनुभयो । 

सो मूर्ति पोखरीमा ल्याएसँगै आज रातभर पुजारीका साथै सुरक्षाकर्मीले नागपोखरीमा सुरक्षासमेत दिने गरेका मोक्ताङको भनाइ छ । “यो सँगै नागपोखरीमा निर्मित बासुकी नागको कालो मूर्तिको मङ्गलबार सम्मानका साथ पूजा गर्छौँ”, उहाँले थप्नुभयो । नागपोखरी परिसरमा मेला आयोजना गर्न आज सरसफाइ गर्ने तथा ध्वजापतका लगाउने र मन्दिर सिगार्ने काम भइरहेको देखिन्छ । 

सोमबार १६ साउन २०७९ ०९:५० PM मा प्रकाशित

प्रतिक्रिया