×

बजेटमा पैसा बाँड्ने कुरा गरेकाे छैन, इन्डक्शन चुल्हाेसँग भाेट साट्न खाेजेकाे हाेइन : मन्त्री शर्मा

images

अर्थमन्त्री जनार्दन शर्माले आउँदाे आर्थिक वर्षको बजेट अनुदान लक्षित नभएको बताउनुभएको छ । आज बुधवार राष्ट्रिय सभामा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको सामान्य छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री शर्माले आउँदाे बजेट चुनावलाई लक्षित गरेर नल्याइएको दोहोर्‍याउँदै बजेटमा पैसा बाँड्ने कुरा कतै नगरेको जिकिर गर्नुभयो । मन्त्री शर्माले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरूप्रति लक्षित गर्दै विगतमा अनुदान बाँडिएको अभ्यासको झझल्को अहिले पनि आइरहेको भन्दै व्यङ्ग्य गर्नुभयो । उहाँले प्रतिपक्ष दलहरूलाई बजेट अनुदान नदिनेमा ढुक्क हुन आग्रह गर्नुभयो ।

अर्थमन्त्री शर्माले भन्नुभयो, ‘बजेटमा चुनावलाई ध्यानमा राखेर पैसा बाँड्ने कार्यक्रम मात्रै बनाइयो भन्ने छ तर यहाँ कतै पैसा बाँड्ने काम छैन । अनुदान भन्ने कतै पनि छैन । अनुदान भनेर हिजो बाँडिएको अभ्यासको स्मरण होला । प्रोत्साहन छ । किसानले दुध दुह्याे, त्यसले प्रोत्साहन पायो । दुध दुहेको बेला सरकारले भाेट कसलाई दियो सोध्दैन, दुध दुह्यो कि दुहेन यति सोध्छ ।’

मन्त्री शर्माले प्रतिपक्षले इन्डक्शन चुल्हाे बाँडेर भोट साट्न खोजेको आरोप लगाएकाे भन्दै उनीहरूलाई पनि साथमा लिएर चुल्हाे बाँड्ने कार्यक्रम बनाउने बताउनुभयो । उहाँले इन्डक्शन चुल्हाे चुनावसँग केन्द्रित नभएको भन्दै चुलोमा राजनीति नगरेको स्पष्ट पार्नुभयो । मन्त्री शर्माले नेपालको विद्युतीय संयन्त्रले २५ प्रतिशत मात्रै विद्युतीय उपकरणको प्रयोग धान्न सक्ने भएकोले त्यसैअनुसारका संरचनामा बजेटले जोड दिएको बताउनुभयो । उहाँले इन्डक्शन चुलो बाँडेर भोट साट्ने कुरा सरकारको नरहेको बताउनुभयो ।

अर्थमन्त्री शर्माले संरचनात्मक परिवर्तन प्रणालीका आधारमा सबै वर्ग र समुदायलाई समेटेर संविधानले प्रदान गरेका अधिकारहरूलाई कार्यान्वयन गर्न नयाँ सोचमा जानुपर्ने बताउनुभयो । उहाँले पुरानो संसदीय मान्यताका आधारमा विरोधका लागि विरोध गर्ने मान्यताबाट मुक्त हुनुपर्नेमा जोड दिनुभयो । 

उहाँले भन्नुभयो, ‘पुरानो संसदीय मान्यताका आधारमा विरोधका लागि विरोध, सहीको पनि विरोध, गलतको पनि समर्थन गर्ने मान्यताबाट हामी मुक्त हुनुपर्छ । बजेटमा त्रुटि पक्कै पनि होलान् । म शतप्रतिशत सबै कुरा सही छ भनेर भन्दिन । तर के असल पक्ष छैन ? यो अहिलेको देशको आवश्यक्ता हो कि होइन ? देश ठूलो सङ्कटमा छ, याे सङ्कटलाई बजेटले समाधान गर्दैन भन्ने प्रश्न उठिरहेको छ तर योभन्दा अर्को समाधान छैन ।’

अर्थमन्त्री शर्माले सरकारले आउँदाे वर्षका लागि ल्याएको बजेट जनताले प्रष्टरूपमा बुझिसेकेको बताउनुभयो । नागरिकले बजेट कृषिमा जाने रहेछ भनेर कृषिमा लाग्नुपर्ने धारणा राखिरहेको उहाँकाे भनाइ छ । 

बुधबार १८ जेठ २०७९ ०६:०० PM मा प्रकाशित

प्रतिक्रिया