काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् । राजावादी समूहहरुको प्रदर्शनको क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रदर्शनमा रहेका राजावादी समूहहरु नक्सालको नारायणचौरबाट बालुवाटारतर्फ अगाडि बढ्न खोज्दा प्रहरीले राप्रपा नेपालका अध्यक्ष थापासहित २२ जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेका थापालाई काठमाडौं उपत्यका प्रहरी परिसर भद्रकालीमा राखिएको छ भने अन्य २१ जनालाई मालिगाउँ प्रहरी बिटमा राखिएको बताइएको छ । प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर भ्यानमा हाल्ने क्रममा उनीहरुले सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए ।
गत जेठ १५ गते गणतन्त्र स्थापना दिवसको दिनदेखि राजावादीहरुले आन्दोलन थालेका छन् । नेपाल राजासहितको हिन्दु अधिराज्य हुनुपर्ने, संघीयता खारेजी हुनुपर्नेलगायतका मागहरु राजावादीहरुको रहेको छ । राजसंस्था पुनर्स्थापना नभएसम्म आन्दोलन जारी रहने उनीहरुको चेतावनी रहेको छ । प्रहरीले घिसार्दै भ्यानमा हाल्दै गर्दा राप्रपा नेपालका अध्यक्ष थापाले ‘भ्रष्ट सरकार मुर्दावाद, प्रहरी दमन अन्त्य गर’ लगायतका नारा लगाएका थिए ।
प्रतिक्रिया