काठमाडौं । अमेरिकाको उत्तरपूर्वी फिलडेल्फियामा गएराति निजी विमान दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ। विमानमा ६ जना सवार रहेकोमा सबैको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। अधिकारीहरू र घटनास्थलबाट प्राप्त भिडियोका अनुसार सो विमान भवनमा ठोक्किएपछि विस्फोट भएको थियो। बिस्फोटपछि जमिनमा रहेका केही मानिस घाइते भएका छन्। वरपर रहेको घर र गाडीमा आगोलागी भएको छ।
उक्त विमानमा चालकदलका चार सदस्यसहित एक नाबालक बिरामी र उनकी आमा रहेका थिए। विमान उत्तरपूर्वी फिलाडेल्फिया विमानस्थलबाट प्रस्थान गरेपछि सो दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन्।
जहाजमा सवार सबै ६ जना मेक्सिकोका नागरिक भएको बताइएको छ। विमान मिसौरीको स्प्रिंगफिल्ड-ब्रान्सन राष्ट्रिय विमानस्थल जाँदै थियो।
बुधबार वासिङ्टन डिसीमा आकाशमै एउटा सैनिक हेलिकप्टर र एउटा यात्रुवाहक विमान ठोक्किँदा दुवै विमानमा सवार सबै ६७ जनाकै मृत्यु भएको थियो । रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै गरेको अमेरिकन एयरलाइन्सको जेट विमान ब्ल्याक हक हेलिकप्टरसँग ठोक्किएर पोटोम्याक नदीमा खसेको थियो ।
हालसम्म कम्तीमा २८ शव निकालिएको अधिकारीहरूले बताए । विमानमा ६० यात्रु र चार चालक दलका सदस्य थिए भने हेलिकप्टरमा तीन सैनिक थिए ।
प्रतिक्रिया