×
images

नक्कली प्रहरी बनेर भारतीय नागरिकलाई कुटपिट र लुटपाट गर्ने ३ जना प्रहरी नियन्त्रणमा 

धनगढी । कञ्चनपुरमा नक्कली प्रहरी बनेर लुटपाट गर्ने तीन जना पक्राउ परेका छन् । 

प्रहरीका अनुसार जिल्लाको शुक्लाफाँटा नगरपालिका–५ का बाशा भनिने रवि साउँद, सुरेन्द्र विष्ट (ल्याङ) र भुवन ऐर पक्राउ परेका हुन् ।

उनीहरूले भारतको पिलिभित ग्राम हरीकृष्णपुर उत्तर प्रदेशका २४ वर्षीय मोहित कुमार र उद्यमसिंहनगर ग्राम मसिद उत्तराखण्डका अशरफ अहमदलाई लुटपाट गरेको प्रहरीले बताएको छ ।

हाल महेन्द्रनगर बजारस्थित १ नम्बर गल्लीमा काम गर्ने उनीहरूलाई बाशासहितका तीनै जनाले हामी सादा पोशाकमा खटिएका प्रहरी हौँ भन्दै धम्की दिएर रातिको समयमा अपहरण गरी कलुवापुरको कालिका सामुदायिक जङ्गलभित्र लगेका थिए ।

उनीहरुले पीडित अशरफको मोटरसाइकल, कम्पनीको स्क्रिन टच मोबाइल १ थान, १६ हजार रुपैयाँ र मोहितबाट तीन हजार रुपैयाँ, स्क्रिन टच मोबाइल १ थान, भारतीय आधार कार्ड, सवारी चालक अनुमति पत्र समेतका कागजातहरू लुटपाट गरेका थिए ।

पीडित भारतीय नागरिकहरूले लुटपाटका साथै आफूहरूमाथि कुटपिट समेत भएको भन्दै अस्थायी प्रहरीपोष्ट कलुवापुरमा जानकारी गराएपश्चात् इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको टोलीले बाशा, ल्याङ र भुवनलाई लुटपाटका सामानसहित पक्राउ गरेको थियो ।

पक्राउ परेका तीनै जनामाथि जिल्ला अदालत कञ्चनपुरबाट म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

सोमबार १५ साउन २०८० ०४:०४ PM मा प्रकाशित

प्रतिक्रिया