×

काठमाडौंको फोहोर वर्गीकरण अलपत्र

images

काठमाडौं । कुहिने र नकुहिने फोहोरको वर्गीकरण गरी व्यवस्थापन गर्ने काठमाडौं महानगरपालिकाको योजना सेलाएको छ । महानगरको नेतृत्वले फोहोरको स्रोतमा नै वर्गीकरण गरेर व्यवस्थित बनाउने योजनालाई चासो दिएर अघि नबढाउँदा फोहोरको वर्गीकरण गर्ने कार्य नै अलपत्र परेको हो ।

काठमाडौं महानगरपालिकाले गत १ साउन २०७९ मा सूचना सार्वजनिक गर्दै स्रोतमै फोहोरको वर्गीकरण गर्न र नगरेको पाइए दण्ड जरिमाना गर्ने चेतावनी दिँदै सार्वजनिक सूचना प्रकाशित गरेको थियो । महानगरले सूचना जारी गरेको वर्ष दिन बित्न लाग्दा पनि फोहोर वर्गीकरणको काम सुरुसमेत हुन सकेको छैन ।

महानगरमा नयाँ जनप्रतिनिधि चयनका लागि निर्वाचन हुने क्रममा काठमाडौं उपत्यकाको फोहोर नउठेर दुर्गन्धमय अवस्था रहेको थियो । फोहोरको समस्या समाधानका लागि महानगरको नयाँ नेतृत्वले दीर्घकालीन रूपमा नै फोहोरको समस्या समाधान गर्न स्रोतमै वर्गीकरण गर्ने योजना लिएको थियो ।

तत्कालीन समयमा महानगरदेखि केन्द्र सरकारसम्मको प्रयासमा काठमाडौं उपत्यकाको फोहोरको समस्या समाधान भएको थियो । फोहोर नियमित रूपमा उठ्न थालेसँगै महानगरपालिकाले भने फोहोर व्यवस्थापनको दीर्घकालीन योजना बिर्सिएजस्तै भएको छ भने वर्गीकरणको विषयलाई समेत बेवास्ता गरेको पाइएको हो ।

काठमाडौं उपत्यकाको फोहोर समाधान गर्ने विषयमा प्रधानमन्त्री कार्यालयले आह्वान गरेको बैठकमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) अनुपस्थित हुने गरेका समेत पाइएको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा शाह अनुपस्थित थिए ।

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर आफूहरू फोहोरको वर्गीकरण गरेर लैजाने विषयमा अन्तिम चरणमा रहेको बताउँछन् । ‘फोहोरको वर्गीकरण त नगरी हुँदैन, अब करिबकरिब लागू गरेर जाने अन्तिम तयारी गरिहेका छौं, यस विषयमा महानगर गम्भीर भएर लागेको छ,’ उनले भने ।

महानगरपालिकाले यसअघि ठाउँ अभावका कारण फोहोरको वर्गीकरण गर्न नसकिएको जनाउँदै आएको थियो । राजधानी दैनिकबाट

बुधबार १७ जेठ २०८० ०६:४१ AM मा प्रकाशित

प्रतिक्रिया