काठमाडौं। नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ । आज बिहान ११ बजे पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक आह्वान गरिएको हो ।
बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्राउपछिका पार्टीका रणनीति र अन्य विषयमा छलफल हुने बताइएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि बस्न लागेको यो दोस्रो बैठक हो।
यसअघि गत शनिबार उपाध्यक्ष रामबहादुर थापा बादल को अध्यक्षतामा बसेको बैठकले विरोधका कार्यक्रम तय गरेको थियो। आजको बैठकमा पनि पार्टीका आगामी रणनीति र आन्दोलनका कार्यक्रमबारे छलफल हुने जनाइएको छ।
जेनजी आन्दोलनका बेला प्रधानमन्त्री रहेका ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक लाई प्रहरीले शनिबार बिहान घरबाटै पक्राउ गरेको थियो। अदालतले उनीहरुलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
एमालेले पक्राउलाई गैरकानुनी र प्रतिशोधपूर्ण भन्दै आलोचना गर्दै आएको छ। ओलीको रिहाइको माग गर्दै देशका विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेका छन्। साथै अन्य दल, नागरिक समाज र सर्वसाधारणसँग सहकार्य गर्ने विषयमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ।
प्रतिक्रिया